अब दर्ताविना अनलाइन व्यापार गर्न नपाइने

काठमाडौँ । वाणिज्य तथा आपूर्ति मन्त्रालय वाणिज्यअन्तर्गतको आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना जारी गर्दै दर्ताविना अनलाइन व्यापार नगर्न चेतावनी दिएको हो ।

सामान खरिद गर्नुअघि एउटा कुरा र बिक्री गरिसकेपछि अर्को कुरा गर्ने अनलाइन व्यापारीहरूले आम उपभोक्तालाई ठगी गरी दुःख दिने गरेको पाइएपछि विभागको आपूर्ति अनुगमन संरक्षण शाखाले आइतबार एक सूचना जारी गर्दै कारबाहीको चेतावनी दिएको हो ।
विद्युतीय पोर्टलहरूबाट अनलाइन व्यापार व्यवसाय सेवा प्रवाह गर्ने कतिपय संस्थाहरूले अनलाइन सेवाबाट सामग्री खरिद गर्दा ढुवानी रकम एक प्रकारले राख्ने र पछि अर्डरको प्रक्रिया सकिएपछि फोन गरेर अतिरिक्त शुल्क लाग्ने भनी सेवाग्राहीहरूलाई थप शुल्क तिर्न बाध्य बनाउने गरेको पाइएपछि यस्तो सूचना सार्वजनिक गरिएको विभागले जनाएको छ ।

उक्त सूचनामा भनिएको छ, “कतिपय अवस्थामा व्यवसाय सम्बन्धित निकायमा दर्ता नगरी व्यवसाय सञ्चालन गरेको, गुणस्तरयुक्त सामग्री भनी फोटो देखाई कमसल सामग्री उपलब्ध गराउने गरेको भन्ने जस्ता उजुरीहरू पटकपटक पर्न आइरहने गरेको हुँदा उपभोक्ता संरक्षण ऐन २०७५ को उल्लङ्घन हुने गरी कुनै पनि कार्य नगर्नू, नगराउनू हुन र ऐनको बर्खिलाप हुने गरी कुनै पनि क्रियाकलाप भए गरेको पाइएमा कानुनबमोजिम कारबाही भई जाने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर