पोखरामा यातायात व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं ।  नेपाल यातायात व्यवसायी महासंघको आह्वानमा पोखरामा  सार्वजनिक यातायात व्यवसायीले गरेको आन्दोलन स्थगित भएको छ । विभिन्न सरोकारवालाबीच आज २ बुँदे सहमति भएसँगै नेपाल यातायात व्यवसायी महासंघले आन्दोलनका कार्यक्रम स्थगित गरेको यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगन्द्र केसीले जानकारी दिए ।

सहमति अनुसार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, प्रदेश समिति, पोखरा, कास्की, राइडर्स पोखरा, नेपाल र सम्पूर्ण रेन्टल व्यवसायी (बाईक तथा स्कुटर) ले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीलाई सम्बोधन गरी पेस गरेका ज्ञापनपत्र अध्ययन गरी सो सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न प्राविधिक समिति गठन गरिएको छ । समिति संयोजकमा भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव प्रदीपकुमार रेग्मी छन् ।

समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, प्रदेश समिति, पोखरा, कास्की, सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेश, राइडर्स पोखरा नेपाल, उपभोक्ता मञ्च नेपाल गण्डकी प्रदेश, यातायात मजदुरमध्येबाट १ जना प्रतिनिधि र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अधिकृत सदस्य सचिव छन् ।

समितिले सबै ज्ञापनपत्रहरु अध्ययन गरी १५ दिनभित्र सुझावसहितको प्राविधिक प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने र आवश्यकतानुसार सम्बन्धित विषयको विज्ञलाई समितिको बैठकमा आमन्त्रण गर्नेछ । साथै नेपाल यातायात व्यवसायी महासंघबाट यातायात क्षेत्रमा कुनै पनि विरोधका कार्यक्रम नगर्ने/नगराउने र प्रचलित कानूनको पूर्ण पालना गर्ने सहमति भएको छ । एवन ग्रेटर नेपाल यातायात कम्पनीका अध्यक्ष अर्जुन पौडेलका अनुसार प्रदेश सरकारले रातो प्लेटका २ पाङ्ग्रे र ४ पाङ्ग्रे सवारीलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्कालका लागि रोकिएको दावी गरे । उनले अब प्राविधिक समितिले दिने सुझाव कार्यान्वयनसम्म आफूहरु पर्खने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर