२ लाख ४५ हजारभन्दा बढी पर्यटक भक्तपुर भ्रमणमा

भक्तपुर ।  भक्तपुर घुम्न पुग्ने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । भक्तपुर नगरपालिका पर्यटन सूचना केन्द्रका अनुसार गएको आर्थिक वर्ष २०८०/८१ मा दुई लाख ४५ हजार पाँच सय ९३ जना विदेशी पर्यटकले भक्तपुर भ्रमण गरेका छन् । गएको आर्थिक वर्षमा नगरपालिकाले पर्यटन शुल्कबाट २७ करोड ४५ लाख रुपैयाँभन्दा धेरै सङ्कलन गरेको छ ।

भक्तपुर नगरपालिकाको पर्यटन सूचना तथा सेवा केन्द्रको तथ्याङ्कअनुसार गएको आर्थिक वर्षमा सबैभन्दा बढी पर्यटक भारतबाट ८७ हजार सात सय ९८ जना आएका छन् । यस्तै चीनबाट ४० हजार चार सय एक, अमेरिकाबाट १३ हजार दुई सय ३०, जर्मनीबाट ११ हजार सात सय पाँच, फ्रान्सबाट १० हजार तीन सय २२, इटालीबाट सात हजार नौ सय ४६, स्पेनबाट ६ हजार ६ सय ८१, जापानबाट ६ हजार एक सय ७०, इङ्गल्यान्डबाट ६ हजार ६६ जना पर्यटक आएका छन् ।

नेपाल भ्रमणमा आएका पर्यटकहरूलाई भक्तपुर एकपटक पुग्नैपर्ने गन्तव्यस्थलको रूपमा विकास गर्न नगरपालिकाले पर्यटन प्रवद्र्धनमा विशेष जोड दिँदै आएको छ । भक्तपुर नगरपालिकाले पर्यटकहरूलाई लक्षित गरी सुविधा सम्पन्न पर्यटक सूचना केन्द्र, पर्यटक बस पार्क, पर्यटक शौचालय, पर्यटक सूचना केन्द्रमार्फत ६ वटा भाषामा नक्सासहितको ब्रोसर, निःशुल्क इन्टरनेटसहित कम्प्युटरको सुविधा, शारीरिक रूपमा अशक्त पर्यटकका लागि ह्वील चेयर, लगेज राख्ने कोठा, मोबाइल चार्जको सुविधा, पत्रपत्रिकासहित विश्रामका लागि बस्ने सुविधाको व्यवस्था गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर