भारतीय गोताखोर टोली आज रित्तो हात स्वदेश फर्कँदै

काठमाडौं । त्रिशूली नदीमा बेपत्ता दुईवटा बस पत्तालगाउने अथक् प्रयासपछि रित्तो हात लिएर भारतीय गोताखोर टोली आज स्वदेश फर्कँदै छन् । उनीहरूले चितवनको सिमलताललगायत धेरै ठाउँमा खोजी कार्य विगत एक सातादेखि जारी राखेता पनि सुखद परिणाम भने हात पार्न सकेनन् ।

चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नेपाल सरकारको अनुरोधमा चार गोताखोरसहित आएका १२ जना प्राविधिकहरूले एक सातासम्मको खोजी कार्यपछि आज उनीहरू स्वदेश फर्कन लागेको बताए । भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का प्राविधिकहरू अत्याधुनिक उपकरणसहित एक हप्ता अगाडि भारतको गोरखपुर हुँदै नेपाल आएका थिए । भारतीय टोलीले बेपत्ता बस खोज्न ल्याएको १९ किलोको चुम्बकीय उपकरण त्रिशूली नदीमा हिजोमात्रै हराएको थियो । प्रजिअ यादवका अनुसार भारतीय टोली स्वदेश फर्केता पनि सशस्त्र प्रहरी बलले दोस्रो चरणको खोजी कार्य जारी राख्नेछ ।

गत असार २८ गते बिहान साढे ३ बजेतिर भरतपुर–२९ स्थित नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जान आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स त्रिशूली नदीमा खसेका थिए। गणपतिमा ३८ जना र एन्सल्समा २७ जना यात्री रहेको अनुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर