नेपालगन्ज नाकामा कोरोना सतर्कता

काठमाडौं । नेपालगन्ज नाकामा पछिल्ला दिनमा दैनिक जसो कोरोना सङ्क्रमित फेला पर्न थालेपछि सतर्कता बढाइएको छ । भारतबाट आएका व्यक्तिलाई नेपालगन्ज नाकामा परीक्षण गरी सङ्क्रमण पुष्टि भए होम आइसोलेसनमा पठाउने गरिएको छ ।

सुरुमा कोरोना महामारी फैलिदा नेपालगञ्जस्थित जमुनाह नाकामा ‘हेल्थ डेस्क’ राखिएको थियो । हाल हेल्थ डेस्कमा २२ जना कर्मचारी कार्यरत छन् । गत चैत ३ गतेदेखि आइतबारसम्म नाकामा परीक्षण गर्दा एक सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नाकामा एन्टिजेन परीक्षण गरी कोरोना पुष्टि भएकालाई नाकामै परामर्शका साथै औषधि समेत दिइन्छ । तर नाकामा आइसोलेसनमा राख्ने व्यवस्था नभएकाले होम आइसोलेसनमा पठाउने गरिएको छ ।

कोरोना महामारी सुरु भएपछि हालसम्म नाकामा एक लाख १५ हजार वटा नमुना परीक्षण भइसकेको छ । “सबैले परीक्षण गर्न मान्दैनन्, नाका हुँदै नेपाल भित्रिने सबैलाई अनुगमन गर्ने अवस्था पनि छैन”, हेल्थ डेस्कका प्रमुख गीता गिरी शाहीले भनिन् । उनीका अनुसार भारतका पन्जाब, दिल्ली, लखनउबाट आउने यात्रुमा बढी कोरोना सङ्क्रमण पुष्टि भएको छ ।”

नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तेज वलीले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेको भन्दै कोरोना सङ्क्रमण पुष्टि भएकाहरूमा कुन भेरियन्ट हो भन्ने पत्ता नलागेको बताए । कोरोना सङ्क्रमण पुष्टि भएकाहरूलाई स्वास्थ्यकर्मीको निगरानीमा स्थानीय तहको रोहबरमा होम आइसोलेसनमा व्यवस्थापन गरिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर