महिला एसिया कप क्रिकेट : फाइनलमा भारत र श्रीलंका
काठमाडौं । एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन्। दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै आयोजक श्रीलंकाले भारतसँगको फाइनल भेट पक्का गरेको हो।यसअघि पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई १० विकटले पराजित गर्दै महिला एसिया कपटको फाइनलमा नवौं पटक पुगिसकेको छ।
रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशमाथि १० विकेटको शानदार जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको बंगालदेशले दिएको ८१ रनको लक्ष्य भारतले ११ ओभरमा बिना विकेट भेट्टाएको हो।भारतका स्मृति मन्धनाले ५५ रनको शानदार अर्धशतक बनाइन भने सफाली वर्माले २६ रन जोडिन्।
यता प्रतिस्पर्धात्मक बनेको दोस्रो सेमिफानलमा भने श्रीलंकाले कठिन जित निकालेको हो। सुरुमा ब्याटिङ गरेको पाकिस्तानले मात्र ४ विकेटको क्षतिमा दिएको १४१ रनको चुनौती एक बल बाँकी हुँदा श्रीलंकाले ७ विकेटको क्षतिमा १४१ रन बनाउँदै भेट्टाएको हो।
आयोजक श्रीलंका र भारतको फाइनल भिडन्त आइतबार हुँदैछ। यो खेल आइतबार दिउँसो ३:१५ बजे श्रीलंकाको डम्बुला क्रिकेट मैदानमा सुरु हुनेछ। दुई समूहमा विभाजन गरिएका आठ टिमध्ये समूह ‘ए’को भारत र ‘बी’को श्रीलंकाले फाइनल भेट पक्का गरेका हुन्।
प्रतियोगितामा सहभागी भएको नेपाल भने समूह चरणबाटै बाहिरिएको छ। तीन खेल खेलको नेपालले यूएईविरुद्ध ६ विकेटको जित निकालेको थियो। समूह चरणकै भेटमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको नेपाल भारतसँग ८२ रनले स्तब्ध भएको थियो।