कसरी दुर्घटना भयो ? सौर्य एअरलाइन्सको जहाज

काठमाडौं । सौर्य एअरलाइन्सको ९ एन एएमई जहाज आज बुधबार बिहान करिब ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रै दुर्घटनाग्रस्त भएको जहाजले टेक अफ लगत्तै सुरुमा देब्रेतर्फ खसेर बजारिएको र फेरि उछिट्टिएर दाहिनेतर्फ पुगेको एक प्रत्यक्षदर्शीले बताएका छन् । ती प्रत्यक्षदर्शीका अनुसार दाहिनेतर्फ लगभग दुई सय मिटर घिस्रिँदै जहाजले एअर डाइनेस्टीको हेलिकोप्टरको ह्याङ्गरलाई हिर्काउन पुग्यो र ह्याङ्गरमा रहेको कन्टेनरलाई समेत घिसार्दै जहाज तल खोल्सामा खसेको थियो ।

दुर्घटनास्थलमा एअर डाइनेस्टीको कन्टेनरसँगै जहाजको ककपिटको भाग रहेको छ । जहाजको पछाडिको भाग त्यहाँबाट टुक्रिएर फेरि सय मिटर पर बजारिएको थियो । यो भाग काँडाघारीको बाटो नजिक रहेको छ । जहाज दुर्घटना हुँदा ठूलो आवाज आएको थियो । दुई ठाउँबाट आगो र धुवाँको मुस्लो निस्किएको थियो । दुर्घटनाको प्रारम्भमा नै जहाजको अघिल्लो भाग ककपिट छुट्टिएकाले क्याप्टेन मनीष शाक्यलाई चोटपटक लागेको हो । केएमसी अस्पताल सूत्रका अनुसार क्याप्टेनको शरीरमा कुनै जलन देखिएको छैन ।
उद्धारकर्मीहरूले केएमसीको आकस्मिक उपचार कक्षमा क्याप्टेन शाक्यलाई भर्ना गर्दा उनले मोबाइल फोन मागेको र उनी फोन गर्ने कोसिसमा थिए । क्याप्टेनको शरीरको विभिन्न भागमा रगत बग्ने गरी गम्भीर चोटपटक लागेको र अहिले उनको उपचार जारी रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर