एमाले र कांग्रेसले लुम्बिनीमा मन्त्रीकाे नाम टुंगाे लगाए

काठमाडौं । लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम कांग्रेस–एमालेले टुंगो लगाएका छन् । पार्टी केन्द्रीय समितिले दिएको नामावलीको आधारमा दुवै पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएका हुन् । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएको छ । अघिल्लो सरकारमा मन्त्री बनेका दुई जनालाई दोहोर्‍याइएको छ भने दुई जना नयाँ अनुहारलाई मन्त्रीमण्डलमा स्थान दिइएको छ ।

कांग्रेस–एमाले समीकरणका आधारमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् । उनको क्याविनेटमा एमालेको तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमिश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङबाट सीता चौधरी शर्मालाई मन्त्रीको रुपमा सहभागी हुनेछ । पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा शहरी विकास मन्त्री थिए।

कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंगो लगाएको छ । बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ । गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीको नाम मन्त्रीको रुपमा टुंगिएको जनाइएको छ ।

नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गर्ने कार्यक्रम छ । सुरुमा मन्त्रीहरुले विना विभागीयको रुपमा शपथ लिने र पछि जिम्मेवारी तोकिने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर