राजस्थानमाथि हैदराबादको रोमान्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई  पराजित गरेको छ ।

राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा हैदराबाद ४ विकेटले विजयी भएको हो।

राजस्थानले दिएको २ सय १५ रनको लक्ष्य हैदराबादले निर्धारित २० ओभर अन्तिम बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

हैदराबादका लागि ओपनर अभिषेक शर्माले ३४ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय ईनिङ्स खेले ।

राहुल त्रिपाठीले २९ बलमा २ चौका र ३ छक्काको सहयोगमा ४७ रन बनाए । ओपनर अनमोलप्रित सिंहले २५ बलमा ३३ रन बनाए । हेनरिक केल्सनले १२ बलमा २ चौका र २ छक्काको सहयोगमा २६ रन बनाए ।

ग्लेन फिलिप्सले ६ बलमा १ चौका र ३ छक्काको सहयोगमा २५ रन बनाए । हैदराबादलाई जितका लागि अन्तिम ओभरमा १७ रन चाहिएकोमा क्रिजमा मार्को यान्सन र अब्दुल समाद रहेका थिए । बलिङमा सन्दीप शर्मा आएका थिए।

पहिलो बलमा अब्दुल समादले २ रन लिए । दोस्रो बलमा समादले ६ रन जोडे । तेस्रो बलमा समादले २ रन जोडे । चौथो बलमा समादले १ रन जोडे । पाँचौ बलमा मार्को यान्सनले १ रन जोडे ।

ओभरको अन्तिम बलमा सन्दीपले नो बल गरे । अतिरिक्त बलमा समादले छक्का प्रहार गर्दै हैदराबादलाई खेल जिताए ।

राजस्थानका लागि युजभेन्द्र चहलले ४ तथा कुलदिप यादव र रविचन्द्रन आश्विनले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १४ रन बनायो ।

राजस्थानका लागि ओपनर जस बटलरले ५९ बलमा १० चौका र ४ छक्काको सहयोगमा रनको ९५ अर्धशतकीय ईनिङ्स खेले ।

पहिलो विकेटका लागि यश्सवी जैसवाल र बटलरले  ३० बलमा ५४ रनको साझेदारी गरे । जैसवालले १८ बलमा ५ चौका र २ छक्काको सहयोगमा ३५ रन बनाए ।

दोस्रो विकेटका लागि कप्तान सन्जु सामसन र बटलरले ८१ बलमा १ सय ३८ रनको सानदार साझेदारी गरे । कप्तान सामसनले ३८ बलमा ४ चौका र ५ छक्काको सहयोगमा अविजित ६६ रनको अर्धशतकीय ईनिङ्स खेले ।

शिमरन हिटमायर ७ रनमा अविजित रहे । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले समान १-१ विकेट लिए ।

सनराईजर्स १० खेलमा ८ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । राजस्थान ११ खेलमा १० अंक जोडेर चौथो स्थानमा कायमै रहेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर