त्रिशूली नदीमा बेपत्ता दुईवटा बस र यात्रुको खोजी जारी

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका– २९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी जारी छ । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आज शुक्रबार पनि बिहानैदेखि खोजी जारी रहेको बताए ।
गत असार २८ गते वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता भएका थिए । दुई बसमा सवार ६५ यात्रुमध्ये तीनजना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । बस र यात्रुको खोजीका लागि करिब एक सातादेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासहित तीनवटै सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

खोजीका लागि विभिन्न आधुनिक प्रविधिसहितको गोताखोर टोली पनि खटेको छ । यसैबीच सरकारले घटनाको अनुसन्धान गर्न अध्ययन समिति गठन गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको उक्त समितिले घटनास्थलको स्थलगत अध्ययन गरिसकेको छ । मन्त्रालयले सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख ज्ञानेन्द्रकुमार झाको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो ।

धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ । गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालले भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको यसअघि जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर