सरकार परिवर्तनले नयाँ आशा र भरोसा जगाएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनले नागरिकमा आशा र भरोसा जगाएको बताएका छन्। नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला कमिटीले मङ्गलबार बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘‘सरकार परिवर्तन हुनु धेरै ठुलो कुरा होइन, सरकार समय समयमा परिवर्तन भइरहन्छ। तर यस परिवर्तनले एउटा नयाँ आशा, भरोसा यहाँहरुमा पनि जगाएको छ र सिङ्गै देशलाई पनि जगाएको छ ।’’

भ्रष्टाचार नियन्त्रण, विकास निर्माणको र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित भएको उनले बताए । ‘‘प्रधानमन्त्रीको पद मैले लिनुको अर्थ, स्वीकार्नुको अर्थ त्यतिकै प्रधानमन्त्री हुनका लागि होइन, प्रधानमन्त्री त म पहिले पनि भइसकेको थिएँ’’, उनले भने । प्रधानमन्त्रीको हैसियतले मन्त्रिपरिषद्लाई ठीक ढङ्गले नेतृत्व गर्ने उनले बताए । देशको विकासका निम्ति, सुशासनका निम्ति र आमजनताका निम्ति आफूले काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । यसअघि प्रधानमन्त्री हुँदा यथाशक्य सकारात्मक ढङ्गले सोच्ने र अगाडि बढाउने काम गरेको ओलीले प्रष्ट पारे ।

‘‘कोभिडसँग जुधेको छु, नाकाबन्दीसँग जुधेको छु, पार्टीभित्रका डरलाग्दा अप्ठ्यारासँग जुधेको छु, घेराबन्दीसँग जुधेको छु, ती अनुभवहरू पनि मसँग छन्, आज कतै पनि त्यस्तो स्थिति छैन, आज त्यस प्रकारको घेराबन्दीको स्थिति छैन, हामीसँग कोभिडको तुलनामा त्यस्तो कुनै बिपत्ति छैन’’, उनले भने।

अहिले एकैचोटी मनसुनको चापले गर्दा केही बाढी पहिरो, केही सडक पुल भत्किने र त्यसबाट जनधनको क्षति भएको उनले बताए । नेपालको भौगोलिक स्थितिले यस्ता कुरा रोक्न कठिनाइ भइरहेको उनले प्रष्ट पारे । आगामी दिनमा यस्ता प्राकृतिक विपत् कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिने ओलीले बताए।

हिजो मात्रै मन्त्रिपरिषद् बैठकले त्यस विषयमा गम्भीरताका साथ ध्यान दिएको उनले बताए । प्रभावित क्षेत्रमा कसरी राहत, उद्धार र पुनर्स्थापनामा गर्ने भन्ने विषयमा तयारी भइरहेको ओलीले बताए। उनले गत वर्षको जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीडित भएकाको आवास निर्माणको लागि किस्ता रकम दिने कुरामा ध्यान दिने जानकारी दिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर