पुँजीबजारप्रति अर्थमन्त्री सकारात्मक हुनेबित्तिक्कै शेयरको मूल्यमा भारी वृद्धि

काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले सेयर बजारको विकासमा सक्रियतापूर्वक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका तर्फबाट मंगलबार अध्यक्ष सागर ढकालको नेतृत्वमा अर्थ मन्त्रालय पुगेको ब्रोकरको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् । ‘पुँजीबजारप्रति म सकारात्मक छु’, उनले भने, ‘यस क्षेत्रको विकास र स्थायित्वका लागि सक्रियतापूर्वक पहल गर्नेछु ।’

भेटका क्रममा एसोसिएसनका पदाधिकारीहरुले नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई तथा शुभकामना प्रदान गरेका थिए । एसोसिएसनका अध्यक्ष ढकालले अर्थमन्त्री पौडेलबाट पुँजीबजारको सुधार र विकासका लागि अग्रगामी नेतृत्वको आशा व्यक्त गरेका थिए ।
यसैबीच आज शेयर बजार नेप्से परिसूचक भारी अङ्कले बढेको छ । सरकार परिवर्तन भई अर्थमन्त्रीमा विष्णु पौडेलको आगमनलाई शेयर बजारले भव्य रूपमा स्वागत गरेको छ ।

आज शेयर बजार नेप्से परिसूचक ७० दशलमव १८ अंकले बढेर २ हजार ३१० को विन्दुमा कायम भएको छ । आज २३४ कम्पनीको शेयर मूल्य बढेको छ भने ८ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१५ कम्पनीको २ करोड ५८ लाख ३६ हजार २८५ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब १३ करोड माथिको शेयर कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर