विद्युत विधेयकको पुनर्लेखन गर्न इप्पानको माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले संसदमा दर्ता भएको विद्युत विधेयक फिर्ता हुनुपर्ने बताएका छन् ।

विद्युत विकास विभागको ३१औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा डाँगीले नवनियुक्त ऊर्जामन्त्री दीपक खड्कासामु विद्युत विधेयक २०८० लाई संसोधन नभई फिर्ता हुनुपर्ने र यसलाई पुनर्लेखन नै गर्नुपर्ने बताएका हुन् । विद्युत ऐन २०४९ लाई संसोधन गरेर विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दा उक्त ऐन नै सर्वमान्य हुने उनको भनाई छ ।

त्यस्तै, विद्युत ऐन २०४९ ले दिएको स्पेयर्स पारर्ट्समा १ प्रतिशत भन्सारको सुविधा बजेटले कटौती गर्दा गत वर्षको बाढीले क्षति पुगेका ३१ वटा जलविद्युत आयोजनाले भन्सार छुटमा सामान ल्याउन नपाएको प्रसंग निकाल्दै डाँगीले नवनियुक्त ऊर्जामन्त्रीले यसमा सहजीकरण गर्नुपर्ने बताए ।

नवनियुक्त ऊर्जामन्त्री दीपक खड्काले निजी क्षेत्रका मागहरु सम्बोधन गर्न ऊर्जा मन्त्रालयको तर्फबाट इमन्दार प्रयास गर्ने बताएका छन् । बाढीले आफ्नै निर्वाचन क्षेत्रमा २५ जनाभन्दा धेरैको ज्यान गएको, धेरै विद्युत आयोजनाहरुमा ठूलो क्षति भई प्रतक्ष रुपमा प्रभावित भएको सम्झना गर्दै खड्काले यसले जलविद्युत प्रवर्द्धक र किसान मात्रै होइन, अन्य सामान्य व्यक्ति, व्यापारीलगायत पनि अप्रत्यक्षरूपमा प्रभावित भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर