डोलेश्वरमा ३८ दिने श्रावणी मेला हुने

भक्तपुर ।  सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा श्रावण १ गतेदेखि भाद्र ६ गतेसम्म ३८ दिने श्रावणी मेला लाग्ने भएको छ । उक्त मेलाको लागि आवश्यक तयारी पूरा भइसकेको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

मन्दिर प्राङ्गणमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले ३८ दिने मेलाको लागि समितिले सुरक्षा व्यवस्थाका साथै मन्दिरमा दर्शनका लागि आउने स्वदेशी तथा विदेशी भक्तजनको सहजताका लागि लाइन बस्नका लागि कुपन प्रणालीको व्यवस्था गर्नुका साथै ट्राफिक, यातायात, स्वास्थ्य शिविर, खानेपानी लगायतको बन्दोबस्त मिलाइएको बताए ।

श्रावण १ गते मंगलबार बिहान ७ बजे चन्द्रविनायक मन्दिर पौखेलदेखि डोलेश्वर मन्दिर परिसरसम्म कलश यात्राको आयोजन गरेर ३८ दिने मेलाको सुरुवात गरिने छ । मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी लाइन बस्न नपर्ने गरी व्यवस्थापन गरिएको बस्नेतले जानकारी दिए ।

यस वर्ष एक करोड रुपैयाँ आम्दानी हुने तथा करिब १० लाख खर्च हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए । समितिका महासचिव तथा प्रचारप्रसार समितिका अध्यक्ष हरिशरण बस्नेतले यस वर्ष सोमबार र शनिबार विशिष्ट धर्मगुरुबाट धार्मिक प्रवचन तथा कलाकारहरुले भजनकीर्तन प्रस्तुत गर्ने बताए । यसैगरी, मेलाको ३८ दिन नै स्थानीय गुरुहरुबाट नित्य पूजा, पाठ, पारायण कार्य हुने तथा शनिबार र सोमबार विमला–गंगा आरती हुने समेत उनले बताए ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न वडा कार्यालयले समितिसँग समन्वय गरी अघि बढिरहेको बताए ।

पछिल्लो समय यस मन्दिरमा भारतीय दर्शनार्थीहरुको उल्लेख्य भीड लाग्ने गरेको समितिले जनाएको छ। पञ्चस्नान गर्ने दर्शनार्थीका लागि पञ्चस्नानका सामग्रीका लागि एक हजार एक सय रुपैयाँको रसिद काटेर दर्शन गर्नसक्ने व्यवस्थासमेत मिलाइएको छ। वि.सं. २०६६ भदौ ६ गते मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा भदौ ६ गते विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिँदै आइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर