नारायणी नदीमा भेटिएका तीनवटै शवको सनाखत

काठमाडौं ।  नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ । ती शव पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता बसका यात्रुको भएको प्रहरीले जनाएको छ । गैँडाकोट नगरपालिका–७ गैरीस्थित नारायणी नदीको टापुमा शनिबार भेटिएका दुईवटा र भरतपुर महानगरपालिका–२८ गोलाघाटमा भेटिएको एक शव सिमलताल घटनाका यात्रुको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । उनका अनुसार शनिबार भेटिएका तीनमध्ये एउटा शव चितवन माडी नगरपालिका–१ का २२ वर्षीय विकास परियारको भएको पुष्टि भएको छ । मृतकका दाजु विजय परियारले शवको सनाखत गरेका हुन् । वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बसमा उनी भरतपुरबाट चढेका थिए ।

पहिरोले त्रिशूली नदीमा बेपत्ता दुईवटा बसको आज तेस्रो दिन पनि खोजी कार्य जारी छ । शुक्रबार र शनिबार दिनभर गरिएको खोजी कार्यबाट बस नभेटिएपछि आजदेखि ठूलो चुम्बकको प्रयोग गरिदैछ । अन्य प्रयासबाट खोजी कार्यबाट पत्ता नलागेपछि चुम्बकको प्रयोग गरिने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।

बस खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपालका ९० जनाको सुरक्षा फौज परिचालन गरिएको छ । घटना भएको तीन दिनसम्म पहिरोले बस खसेको ठाउँ वरपर बाँसका भाटा, एन्कर हुक, गोताखोर, ड्रोन, वाटर ड्रोन, बाइनाकुलर टेलिस्कोपको सहायताले खोजी गरे पनि बस नभेटिएपछि आजदेखि ठुलो चुम्बकको सहायताले खोजी गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । नेपालमा उपलब्ध सबै उपाय लगाएर खोजी गर्दा पनि बस र वेपत्ता यात्रुु नभेटिएपछि बङ्गलादेशबाट गोताखोर ल्याउने प्रयास भइरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर