भारतमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात

काठमाडौं ।  भारतमा दैनिक आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । प्रिमनसुन सुरु भएसँगै प्राधिकरणले गत १४ जेठबाट भारतमा यस सिजनको विद्युत् निर्यात सुरु गरेको थियो । त्यसवेला चार सय मेगावाटसम्म विद्युत् निर्यात भएको थियो । तर, बीचमा गर्मी अत्यधिक हुँदा स्वदेशी माग बढ्न गई विद्युत् निर्यात रोकिएको थियो ।

पछिल्लो समयमा भएको वर्षाले खोलाहरूमा पानीको बहाव बढेको छ । गत हप्ता बाढीका कारण बन्द गरिएका अधिकांश जलविद्युत् परियोजना सञ्चालनमा आइसकेका छन् । अधिकांश जलविद्युत् परियोजनाबाट पूर्ण क्षमतामै विद्युत् उत्पादन हुन थालेपछि स्वदेशमा खपत भएर बढी भएको बिजुली भारतमा निर्यात गर्न थालिएको छ । गत आइतबारयता भारतमा सात सय मेगावाटभन्दा बढी विद्युत् निर्यात हुन थालेको छ । शुक्रबार अर्थात् २९ असारमा भने अधिकतम ८१२ मेगावाट विद्युत् भारतमा निर्यात भएको नेपाल विद्युत् प्राधिकरणको तथ्यांक छ ।

यसअघि गत ६ कात्तिकमा भारतमा ७३२ मेगावाट विद्युत् निर्यात भएको थियो । यस वर्ष उक्त रेकर्ड तोडिएको हो । गत वर्ष २९ असारमा ३७५ मेगावाट विद्युत् निर्यात भएको थियो । गत २३ असारमा ७७८ मेगावाट, २४ असारमा ७४८ मेगावाट, २५ असारमा ७६९ मेगावाट, २६ असारमा ७८९ मेगावाट, २७ असारमा ७८९ मेगावाट र २८ असारमा ८१२ मेगावाटसम्म विद्युत् निर्यात भएको छ । आठ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भएको यो पहिलोपटक हो ।

भारतले आफ्नो बजारमा सात सय मेगावाटहारहारीमा विद्युत् निर्यात गर्न मिल्ने गरी परियोजना स्वीकृत गरेको छ । स्वीकृत सीमाभन्दा ५० प्रतिशतभन्दा विद्युत् बिक्री गर्न पाइने व्यवस्था छ । सोहीअनुसार विद्युत् निर्यात भइरहेको प्राधिकरणको भनाइ छ । अहिले दैनिक सात–आठ सय मेगावाटभन्दा बढी बिजुली भारत निर्यात भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर