कांग्रेसले मन्त्रीहरुको नाम एकै पटक पठाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु नाम एकै पटक पठाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आज शनिबार बसेको कार्य सम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने र आफ्नो दलका तर्फबाट मन्त्रीपरिषद्मा जाने मन्त्रीहरु नाम एकै पटक पठाउने निर्णय गरेको छ ।

बैठकले सरकारमा पठाउने मन्त्री छान्दा समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर छान्ने मापदण्ड बनाइएको बैठक पछि पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार विश्वासको मत नपाएपछि कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको लागि दाबी पेश गरेका छन् । प्रधानमन्त्रीको आइतबार साँझ शपथग्रहणसँगै मन्त्रीमण्डल विस्तार गर्ने दुई दलको तयारी रहेको छ ।

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सहभागी हुने निर्णय गरेको छ ।पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।
बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिरोका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको २ वटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षण समेत गराएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर