भक्तपुरको नलिञ्चोकबाट हेलिकोप्टर उडान बन्द

काठमाडौं । हवाई सुरक्षा संवेदनशीलताका कारण देखाउँदै निजी क्षेत्रका हेलिकोप्टर कम्पनीका पाइलटले नलिञ्चोकको हेलिपोर्टबाट हेलिकोप्टर उडान बन्द गरेका छन् । हेलिपोर्टमा हुनुपर्ने अत्यावश्यक सेवासुविधा, उडान र अवतरणमा भएका समस्यालगायतका विषयमा ४७ जना पाइलटले असार १६ गते नागरिक उड्डयन प्राधिकरणलाई ज्ञापनपत्र बुझाएका थिए ।

पाइलटका भेलाले तत्कालीन अवस्थामा नलिञ्चोकबाट उडान गर्न नसक्ने निष्कर्ष निकाल्दै बिहीबारदेखि नलिञ्चोकबाट उडान नगर्ने निर्णय गरेको छ । हेलिपोर्ट कार्यालयका अनुसार हाल त्यहाँबाट दैनिक ११ वटा हेलिकोप्टरले सेवा दिँदै आएका छन् । बिहीबार नलिञ्चोकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि एउटा उडान भए पनि अन्य कुनै उडान नभएको कार्यालयले जनाएको छ । कार्यालयले मौसम प्रतिकूलताका कारण उडान नभएको दाबी गरेको छ ।

प्राधिकरणका उपप्रबन्धक ज्ञानेन्द्र भुलले औपचारिक रूपमा उडान बन्द गरिएकोबारे कुनै जानकारी नआएको र देशभरको मौसम प्रतिकूल रहेका कारण उडान नभएको बताए । हेलिपोर्ट भर्खरै सञ्चालनमा आएकाले कतिपय संरचना बन्नै बाँकी रहेको हुँदा हेलपोर्टभन्दा पनि तत्काललाई हेलिप्याडका रूपमा प्रयोगका लागि सञ्चालनमा ल्याइएको उनले बताए । पाइलटहरूले वरपरका घरलगायत मानवनिर्मित संरचनाले अवरोध गरेको, हेलिपोर्टमा कन्ट्रोल टावर नभएको, उडान भर्ने ठाउँ र पार्किङ क्षेत्र साँघुरो भएको, भौगोलिक अवस्थिति र पूर्वाधारको पूर्ण तयारी नभएकोलगायतका कारण देखाउँदै अहिलेकै अवस्थामा उडान भर्न नसकिने जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर