सदनको विश्वास गुमाएकाले प्रधानमन्त्रीको पद स्वतः रिक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाको विश्वास गुमाएका छन् । आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा विभाजनको प्रक्रियाद्वारा भएको मतदानमा प्रधानन्त्रीलाई विश्वास छ भन्ने प्रस्तावको पक्षमा ६३ मत र प्रधानमन्त्रीमाथि प्रतिनिधिसभाको विश्वास छैन भन्ने प्रस्तावको पक्षमा १९४ मत परेको छ । प्रस्तावको पक्ष वा विपक्षमा मत दिन्न भन्ने सांसदको संख्या १ थियो । आज प्रतिनिधिसभामा २५८जना सांसद उपस्थित थिए । विश्वासको मत हासिल गर्न नसकेका प्रधानमन्त्री स्वतः पद रिक्त हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको धारा ७७ को (ख) मा धारा १०० बमोजिम विश्वासको प्रस्ताव पारित हुन नसकेमा प्रधानमन्त्री वा मन्त्रीको पद रिक्त हुने अवस्था उल्लेख गरिएको छ । यसैगरी नेपालको संविधानको धारा १०० को (३) मा उपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल उपस्थित रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछ भन्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर