डि मारियाले फाइनलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने

काठमाडौं। अर्जेन्टिनाका अट्याकिङ मिडफिल्डर एन्जेल डि मारियाले आइतबार हुने कोपा अमेरिकाको फाइनलपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिने भएका छन्। फ्लोरिडाको मियामी गार्डेन्समा आइतबार कोपा अमेरिकाको फाइनल हुँदैछ। सोही फाइनलपछि ३६ वर्षीय डि मारियाले सन्न्यास लिने भएका हुन्। उनले सन् २००८ मा अर्जेन्टिनी टोलीमा डेब्यु गरेका थिए। उनले १४४ खेलमा ३१ गोल गरेका छन्।

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना कोपा अमेरिकाको उपाधि जिताएर आफूले सन्न्यास लिन चाहेको उनले बताए। ‘यो मेरो अन्तिम खेल हो। म सबै अर्जेन्टिनी र यो पुस्तालाई धन्यवाद दिन चाहन्छु जसले मलाई यति धेरै ट्रफी उचाल्न साथ दिनुभयो,’ उनले भने।अर्जेन्टिनालाई दोस्रो पटक विश्वकप र १५औं पटक कोपा अमेरिकाको उपाधि जिताउन कप्तान लिओनल मेसीसँगै डि मारियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मेसीले भने, ‘हामीले उनलाई निकै मन पराएका छौं। उनले सधैँ आफ्नो क्षमताभन्दा सर्वश्रेष्ठ दिएका छन् र उनी फाइनलमा सन्न्यास लिने छन्।’ अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले डि मारियाले आफ्नो निर्णय फिर्ता लिने आशा व्यक्त गरेका छन्।’हामी अहिले नै रुन चाहँदैनौं। हामी उदास महसुस गर्न चाहँदैनौं,’ स्कालोनीले भने। दक्षिण अमेरिकी विश्वकप छनोट सेप्टेम्बरमा पुनः सुरु हुनेछ र प्रत्येक  टोलीले थप १२ खेल खेल्ने छन्। सन् २०२६ को विश्वकपको फाइनल जुलाई १९ मा मेटलाइफमा हुनेछ।स्कालोनीले भने,’जबसम्म उनी चाहन्छन् तबसम्म हाम्रो टिममा रहन सक्छन्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर