आईएमएफले नेपाललाई ऋण निकासा गर्ने निर्णय
काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाललाई ४ करोड १३ लाख अमेरिकी डलर अर्थात् झन्डै ५ अर्ब ५० करोड रुपैयाँ सहुलियतपूर्ण ऋण निकासा गर्ने निर्णय गरेको छ । कोषले विज्ञप्ति निकालेर कार्यकारी सञ्चालक समितिको बैठकले रकम निकासा गर्ने निर्णय गरेको जानकारी गराएको हो । नेपालको वित्तीय र मौद्रिक क्षेत्रमा भएको सुधारबारे आईएमएफले गरेको मूल्याङ्कनपछि कर्जा सुविधा निकासा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो आईएमएफले नेपाललाई सहुलियत कर्जा दिन प्रतिबद्धता जनाएको रकमको चौथो किस्ता हो । भुक्तानी सन्तुलन बिग्रनुका साथै विदेशी मुद्राको सञ्चिति तीव्र रूपमा घटेपछि नेपाल सरकारले वित्तीय र मौद्रिक क्षेत्रमा सुधार गर्ने प्रतिबद्धतासहित २०७८ सालमा आईएमएफसँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिने समझदारी गरेको थियो ।