ओलीको पक्षमा दुईभन्दा बढी सांसदको हस्ताक्षर तयारी अवस्थामा

काठमाडौं । नेकपा एमाललेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई नेपालको संविधान को धारा ७६ को उपधारा (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका दुई तिहाइभन्दा बढी सांसदहरूको हस्ताक्षर संकलन गरेर तयार पारिएको छ ।

उक्त हस्ताक्षर नेपाली कांग्रेस, एमालेको अग्रसरितामा भएको बताइन्छ । आउँदो शुक्रबार प्रधानमन्त्री पुष्वकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिन आवश्यक बरबन्दोबस्तका लागि संसद् सचिवालयमा पत्राचार गरिसकेका छन् । अहिलेसम्मको राजनीतिक विकास क्रमलाई नियाल्ने हो भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने प्रायः निश्चितजस्तै छ । तापनि एकथरि राजनीतिक विश्लेषकका अनुसार प्रधानमन्त्री प्रचण्डले संवैधानिक हक प्रयोग गर्ने अभिलाषा मात्रै राखेको वास्तवमा जुन सदनको विश्वास गुमाइसकेका छन्, त्यही सदनमा पुनः मतदानको प्रक्रियामा गएर मेरो बहुमत बाँकी छ भनेर बालहठ गर्ने छैन र आफूलाई विश्वास नगर्ने राजनीतिक दल र तिनका नेताहरूलाई भरमार राजनीतिक घोचपेच र आफ्नो असन्तुष्टि पोख्ने स्वर्णिम अवसरको उपयोग गरेर भरे लुरुक्क राजीनामा गर्न सक्ने अवस्था आउने छ । त्यसो भएमा सदन विभाजित नहुने र नेपालमा सत्ता हस्तान्तरणको खेल शान्तिपूर्ण ढंगबाट हुने गरिन्छ भन्ने सन्देश स्वदेश र विदेश दुबैतर्फ जाने छ । यो नै नेपाली राजनीतिज्ञहरूको सुझबुझ र परिपक्व काम हुनेछ ।

अर्काथरि राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेस र एमालेले निहुँ खोजेकाले उनीहरूलाई उनीहरूकै भाषामा जवाफ दिन प्रधानमन्त्रीले संवैधानिक हक, अधिकारको उपयोग गरी सदनलाई मत परिणामका आधारमा विभाजित गर्नेछन् । यदि यस्तो अवस्था आयो भने नेकपा माओवादीको त्रिशंकु संसदमा भविष्यपर्यन्त साधारणतया मिलीजुली राजनीतिक जोडघटाउका खेल प्रायः अनिश्चित हुनेछ । त्रिशंकु संसदको विद्यमान अवस्थालाई दृष्टिगत गरेर माओवादी र उनका सहयोगी दलले यस्तो अपरिपक्व कदम चाल्ने छैन ।

कांग्रेस र एमालेसहित जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गराएर तयारी अवस्थामा राखेका छन् । नयाँ समीकरणका एक सूत्रधारका अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गराउन राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी (राई) र जनमत पार्टीलगायत अन्य सांसद पनि सामेल हुनेछन् । कांग्रेस ८८, एमाले ७८, राप्रपा १५, जसपा सात, जसपा नेपाल पाँच, जनमत पाँच, लोसपा चार, नाउपा तीनलगायतले सबैले हस्ताक्षर सङ्कलन गराए भने सांसद सङ्ख्या दुई सय नाघ्नेछ । प्रधानमन्त्री ‘प्रचण्डले असार २८ गते विश्वासको मत गुमाएको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले घोषणा गर्ने बित्तिक्कै उक्त हस्ताक्षर राष्ट्रपति भवन शीतलनिवास पुर्‍याउने कांग्रेस र एमालेको तयारी रहेको बुझिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर