रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु, कैलालीको भजनी तहसनहस

काठमाडौं । रुकुम पूर्वमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । सिस्ने गाउँपालिका–२ दल्लुगैरामा गएराति पहिरो जाँदा गोठमा सुतिरहेका वडा नं १ का कर्णबहादुर बुढाको परिवारका चारजनालाई बगाएकोमा ११ वर्षीय सरगम बुढाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक हरिप्रसाद भट्टराईले बालकका बुवा ४० वर्षीय बुढा, आमा ३८ वर्षीया गम्मा बुढा र बहिनी ९ वर्षीया तिलसरा बुढाको अवस्था गम्भीर रहेको जानकारी दिए । उनीहरूलाई उपचारका लागि रुकुमकोट पठाइएको छ ।

कोशी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण सडकका ठाउँठाउँमा पहिरो झरेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ । कोशी राजमार्गअन्तर्गत पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका(६ फेदी र घण्टेमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । माटोको लेदोसहित खोलामा आएको बाढीले सडक पुरिएपछि मंगलबार बिहानदेखि कोशी राजमार्गमा सवारी आवातजावत बन्द भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि निरन्तरको बाढीका कारण समस्या भएकाले सडक खुल्न केही समय लाग्ने धनकुटाका प्रहरी प्रवक्ता राजबाबु महर्जनले बताए ।

राजमार्ग अवरुद्ध भएपछि कोशी पहाडका धनकुटासहित भोजपुर, संखुवासभा, तेह्रथुम पुग्न सयौँ सवारीसाधन जाममा परेका छन् । त्यस्तै, लगातारको वर्षाको कारणले कोशी राजमार्गका १ दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको छ । रुद्रबारी, गुठीटारलगायतका दर्जनौं स्थानमा पहिरो गएको छ । सडकमाथि थुप्रिएको माटोसहितको लेदो स्काइभेटरले पन्छाउने काम भइरहेको महर्जनले बताए ।

कैलालीमा ४८७ परिवार बाढीबाट विस्थापित

यसैगरी लगातारको वर्षापछि आएको बाढीले कैलाली जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् । भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिए । “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उनले भने, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।”

बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पुर्‍याएका छन् । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताए । जल सतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले बताए । “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उनले भने, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर