बाढीपहिरोबाट देशभरका दर्जनौं राजमार्गमा क्षति, २२ अवरुद्ध

काठमाडौं । बाढीपहिरोले देशभरका दर्जनौं राजमार्गमा क्षति पुगेको छ भने २२ राजमार्ग अवरुद्ध बनेका छन्। सडक विभागका अनुसार, पूर्वदेखि पश्चिमसम्मका कयौं राजमार्गमा क्षति पुगेको छ। कतिपय राजमार्ग एकतर्फी सञ्चालन गरिएको छ भने कतिपय पूर्ण रूपमा ठप्प छन्। कतिपय राजमार्ग सञ्चालन गर्न महिना दिन लाग्ने भएको छ।

विभागका अनुसार, वैशाखयता २१३ राजमार्गमा क्षति पुगेको छ। जसमध्ये मर्मत सम्भार गरेर ८३ वटा राजमार्ग सञ्चालनमा आएका छन् भने १०८ वटा राजमार्ग एकतर्फी आवतजावत भइरहेको विभागले जनाएको छ। आज बिहान मात्रै बाढीले तानसेन-रिडी-कोरला राजमार्ग अवरुद्ध बनेको छ। गुल्मीको भदौरे खोलामा राजमार्ग अवरुद्ध भएको विभागले जनाएको छ।

त्यस्तै, कञ्चनपुरको सुडामा पूर्व-पश्चिम राजमार्ग, डोटीको रडुवामा मध्यपहाडी राजमार्ग र तनहुँमा आरुङ खोलामा भिमाद-रामपुर-मित्याल राजमार्ग अवरुद्ध भएको छ। दैलेखको सियालमा कर्णाली राजमार्ग, कालिकोटको मोफ्ला बजार नजिक हुम्ला सडक, दैलेखको तालपोखरी नजिक दैलेख-नाम्चेनाम्ला सडक, कालिकोटको स्मोड र त्यसको नजिकै कर्णाली राजमार्ग अवरुद्ध भएको छ।

यसैगरी, डोटीको राजपुर क्षेत्रमा दुई ठाउँमा मध्यपहाडी राजमार्ग, बागलुङको दब्ल्यांग भीरमा तानसे-रिडी-कोराला राजमार्ग, धनकुटाको ओख्रेमा भेडेटार-रबि बाँके सडक अवरुद्ध भएको छ। विभागका अनुसार, बाढीपहिरोले सिन्धुलीको कुदुलेमा मध्यपहाडी राजमार्ग, कालिकोटको जुम्ला सडक, सिन्धुपाल्चोकको कोदारीमा अरनिको राजमार्ग, गुल्मीको राक्सेमा तानसेन-रिडीकोरला सडक र स्याङ्जाको रातोडाँडामा तानसेन(रिडी(कोरला सडक अवरुद्ध भएको छ। यस्तै, गुल्मीकै कनौटा र बरल्वामा तानसेन-रिडी-कोरला सडक, लमजुङको तिमाङ्गमा डुम्रे-बेंसीशहर-चामे सडक र संखुवासभाको समाटारमा कोशी राजमार्ग अवरुद्ध भएको छ।

केही ठाउँमा वर्षा कम भएकाले पहिरो पन्छाउने प्रयास भइरहेको विभागले जनाएको छ। कतिपय ठाउँमा भने वर्षा भइरहेकाले सडक खुलाउन केही दिन लाग्ने भएको छ। पूर्वी नेपालमा झरी कम भए पनि पश्चिमी क्षेत्रमा भने झरी परिरहेको छ। पश्चिम तराईमा लगातारको झरीले कयौं बस्ती डुबानमा परेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर