बाढीका कारण कैलालीको जनजीवन प्रभावित

काठमाडौं । बाढीका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । कैलालीको भजनीमा आइतबार राति बाढी बस्तीमा पसेपछि केही परिवार विस्थापित भएका छन् ।

पालिका र स्थानीय मिलेर जोखिम क्षेत्रका नागरिकलाई रातभरि हुलाकी सडक र उच्च भवनमा सारिएको छ । नदी तथा खोलामा पानी बढेपछि राति बस्तीमा रहेका मानिसहरु बालबच्चा र बस्तुभाउसहित हुलाकी सडकमा बसेका हुन् । बाढीले भजनीका सबैजसो वडामा डुबान भएको छ । वडा नं ८ का सबै घर डुबानमा परेका छन् । टीकापुर नगरपालिकामा पनि केही परिवार विस्थापित भएका छन् । बाढीले वडा नम्बर ६ का पर्सेनी, भर्तापुर, भगवानपुरका ६५ घर डुबानमा परेकाले ती घरका मानिसलाई उद्धार गरी उच्च घरमा सारिएको छ ।

सुदूरपश्चिममा बाढी तथा पहिरोका कारण हुनसक्ने सम्भावित विपद्को समयमा उद्धारका लागि प्रदेशका सबै प्रहरी युनिटलाई तयारी अवस्थामा राखिएको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका वरिष्ठ प्रहरी उपरीक्षक डिल्लीराज विष्टका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीमा कार्यरत ११ सय प्रहरी तैनाथ गरिएकोछ । कैलाली र कञ्चनपुरमा डुबान र बाढीबाट आउने खतरालाई मध्यनजर गरेर कर्णाली, र महाकाली नदीको पानीको सतहको प्रहरीले निगरानी गरिरहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर