भक्तपुरमा हनुमन्तेको बाढी बस्तीमा, अविरल वर्षासँगै देशभर बाढीपहिरोको प्रकोप

काठमाडौं । भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले त्यसक्षेत्र वरपरका बस्ती डुबानमा परेको छ । हनुमानघाट, राममन्दिर, राधेराधे क्षेत्र, बालकोट, चारदोबाटो र मनोहरा खोला किनारको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायतको क्षेत्रमा बाढीको पानी पसेको छ ।
भक्तपुर नगरपालिकाको हनुमन्ते नदी किनारका बस्ती, मनोहरा नदी किनारका करिब ६ सय ५० घर बाढीको जोखिममा छन् । चाँगुनारायण, सूर्यविनायकका केही क्षेत्र पहिरोको जोखिममा रहेको बताइएको छ ।


भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बाढी, पहिरो र डुबानबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न प्रशासनले सुरक्षा तह, चारवटै नगरपालिका र नेपाल रेडक्रस सोसाइटीलाई तयारी अवस्थामा राखेको बताइन् । भक्तपुरको सूर्यविनायकस्थित इन्द्र बक्स गण सूर्यविनायकका गणपति प्रमुख सेनानी मोहनकुमार थापाले कुनै पनि ठाउँमा बाढी पहिरोको जोखिमको खबर आए लगत्तै घटनास्थलमा पुग्ने बताए ।

अरनिको राजमार्ग पनि अवरुद्ध

अविरल वर्षासँगै अरनिको राजमार्ग पनि अवरुद्ध भएको छ । शनिबार बिहान ९स्५५ बजे अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ८ तिरतिरे धारा स्थित सडक खण्डमा पहिरो खसेको छ । सडकमाथिबाट रुखसहित आएको पहिरोले सडक अवरोध भएको प्रहरीले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटिइ स्थानीय निकायसँग समन्वय गरी जेसिभी र स्काभेटरमार्फत सडक खुलाउने प्रयास भएकोमा हाल सडक एकतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बाढीको प्रभाव जलविद्युत उत्पादनमा

बाढीको प्रभाव जलविद्युत उत्पादनमा पनि परेको छ । बाढीले आयोजनामा पुगेको क्षतिका कारण छ सय ४० मेगावाट जलविद्युत् उत्पादन बन्द भएको हो ।नेपाल विद्युत् प्राधिकरणका अनुसार रोल्वालिङ खोलामा आएको ठूलो बाढीका कारण चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले गए राति पौने २ बजेदेखि उत्पादन बन्द गरेको छ । यस्तै ६० मेगावाटको माथिल्ला त्रिशूली थ्री ‘ए’ र १० मेगावाटको सुनकोशी जलविद्युत आयोजनाबाट पनि विद्युत् उत्पादन बन्द भएको छ । यस्तै निजी क्षेत्रतर्फ ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । यस्तै बाढीकै कारण ५० मेगावाटको सोलु दूधकोशी, ४७ मेगावाटको लिखु एक, २९ मेगावाटको लिखु दुई, ३८ मेगावाटको मध्य तमोर, ६० मेगावाटको कालिगण्डकी ‘ए’, सात मेगावाटको मोदी, छ मेगावाटको त्रिशूली, पाँच मेगावाटको देवीघाट र १४ मेगावाटको चमेलिया जलविद्युत आयोजनाको बिजुली उत्पादन आंशिक रूपमा प्रभावित भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । यसरी विभिन्न आयोजनाको विद्युत् उत्पादन प्रभावित भएपनि बिजुली अपुग भने नहुने प्राधिकरणले जनाएको छ ।

दुई मजदुर मृत फेला

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुर मृत फेला परेका छन् । शुक्रवार राति उद्धारकार्य थालिए पनि शनिवार बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारू र सुमन थारू रहेका छन् । उनीहरूको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनी बताउँछन् । दोलखाको गौरिशंकर गाउँपालिका ९ गोगाङस्थित रोल्वालिङ खोलामा आएको बाढीमा परेर एक होटल व्यवसायी महिला बेपत्ता भएकी छन् । शुक्रबार राति र शनिबार बिहान परेको अविरल बर्षापछि आएको बाढीमा परेर ६४ वर्षीय जाङमु शेर्पा बेपत्ता भएकी हुन् । बाढीले ३ वटा होटल समेत बगाएको छ । बाढीले छ्योतछ्योत–सिमीगाउँ–च्छो रोल्पा पदमार्गमा रहेका घर र होटल पुरेको हो । बेलुकादेखि परेको अविरल वर्षाका कारण अहिले पदमार्ग समेत बन्द भएको छ ।

सिद्धार्थ राजमार्गको विभिन्न ठाउँमा अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । बिहीबार रातिदेखि निरन्तर आइरहेको पानीले सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गको ठाउँ ठाउँमा पहिरो गएको छ । स्याङ्जा–वालिङ सडकको भीरकोट–४ छाङ्छाङ्दी नजिक आज बिहान पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए । यस वर्ष जिल्लामा भारी वर्षा भइरहेको छ । वर्षाले सिद्धार्थ राजमार्गको वालिङ–१ कालीमाटीमा पनि सडकमाथिबाट पहिरो खस्दा अवरुद्ध भएको छ । वर्षा निरन्तर भइरहेकाले सडक पुनः सञ्चालन गर्न कठिनाइ भइरहेको छ । पहिरोले बेसीँसहर चामे सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत लमजुङ जिल्ला मर्स्याङ्दी गाउँपालिका–४ हावाडाँडा सडक माथिबाट आज बिहान पहिरो आउँदा पूर्णरुपमा सडक अवरुद्ध भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी किरण पोखरेलले सो ठाउँमा ठूलो पहिरो आएको र पहिरो हटाउन समस्या भइरहेको बताए । पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन बाटोमै थन्किएका छन् । चामे गाउँपालिका–१ तिमाङ खोलामा गत मंगलबार आएको बाढीले काठेपुल र मोटरेवल पुल बगाएपछि हालसम्म सडक सञ्चालनमा आउन नसकेको सूचना अधिकारी पोखरेलले बताए ।

घोराही–तुलसीपुर सडक अवरुद्ध

दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत सेवारखोलामा बनाएको डाइभर्सन बगेको छ । बाढीले आज बिहान उक्त डाइभर्सन बगाएको हो । सो ठाउँमा असहले आवतजावत ठप्प छ । जिल्ला प्रशासन कार्यालय दाङले वैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । घोराही उपमहानगरपालिका–१६ सेवारखोलामा चार लेनको पक्की पुल अधुरै छ ।

बाढीले वीरगन्जको विभिन्न ठाउँ डुबानमा

गए रातिदेखि लगातार परेको वर्षाले पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडा डुबानमा परेका छन् । महानगरपालिकाको छपकैया, बजारछपकैया, घडिअर्वा, रानीघाट, श्रीपुर, नगवा, राधेमाईलगायत ठाउँ डुबानमा परेका छन् । पानी सडकमै जम्मा भएर स्थानीयको घर भित्र पस्न थालेको छ । जमेको पानीलाई निकास दिन बिहानैदेखि उपकरण तथा कर्मचारी परिचान गरिएको वीरगन्ज महानगरपालिकाको सरसफाई शाखाका प्रमुख सरफुद्दीन मियाले जानकारी दिए । डुबान भएका क्षेत्रमा नाला सफा गर्ने काम भइरहेको छ । वर्षा भएपछि यहाँका किसान खुसी भएका छन् । पानी परेपछि रोपाइँ गर्न पाइने आशले उनीहरु खुसी भएका हुन् । पर्सामा कुल ५४ हजार पाँच सय हेक्टर खेतियोग्य जग्गा रहेको छ । यसमध्ये ४७ हजार हेक्टरमा धान खेती हुने गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर