न्यायाधीशद्वयको राय बाझिएपछि रविको मुद्दा पूर्ण इजलासमा

काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटमा दुई न्यायाधीशका बिचमा राय बाझिएको छ । न्यायाधीश सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा एकमत हुन नसकेपछि बिहीबार मुद्दाको टुंगो लागेन ।
न्यायाधीश सुवेदीले सहकारीमा हजारौं सर्वसाधारण ठगिएको उजुरी परेकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमा बस्न नमिल्ने राय दिएकी छन् । ‘संविधान तथा प्रचलित कानूनद्वारा निर्दिष्ट गरिएबमोजिम गृहमन्त्रीको पदमा आसिन व्यक्ति स्वयंले जिम्मेवारी बोध गरी नैतिक रूपमा मार्गप्रशस्त गर्नु नै न्यायोचित हुने’ सुवेदीको आदेशमा उल्लेख छ । तर न्यायाधीश मल्लले गृहमन्त्रीले राजीनामा दिन नपर्ने राय दिइन् ।
अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने शेयर सदस्य रहेको गोर्खा मिडिया नेटवर्कमा विभिन्न सहकारीको अवैध रकम अपचलन गरिएको र उनको नाममा समेत ऋण लिइएकाले अनुसन्धान गर्ने निकायको नेतृत्व गर्न नमिल्ने दाबी गर्दै रिट दायर गरेका थिए । न्यायाधीशद्वयबीच राय बाझिएपछि मुद्दा पूर्ण इजलासमा पेश गर्नुपर्ने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर