सूर्यविनायक नगरपालिकाको प्राथमिकता शिक्षा, स्वास्थ्य र खानेपानी

भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरपालिकाले अब शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्रमुख प्राथमिकता दिने बताएका छन् । कटुञ्जे सुवर्णेश्वर खानेपानी व्यवस्थापन उपभोक्ता समितिको नयाँ भवनको आज बिहीबार उद्घाटन गर्दै प्रमुख थापाले नगरपालिकाको प्रशासनिक भवन र सडक निर्माण करिब करिब सम्पन्न भइसकेकाले अब नगरपालिकाको प्रमुख प्राथमिकता भनेको शिक्षा, स्वास्थ्य र खानेपानी रहेको बताए ।

उनले भने, “नगरपालिकाको प्रशासनिक भवन तथा १० वटै वडा कार्यालयको भवन निर्माण, १५० किलोमिटर सडक कालोपत्रे तथा ढलान, साँघुरो बाटोहरुलाई फराकिलो पार्ने, विद्यालय, मठमन्दिर, सामुदायिक भवनलगायतका कार्यहरु सम्पन्न भइसकेको छ । अब गरिबको झुपडीसम्म स्वास्थ्यको पहुँच, “एक घर एक धारा” को व्यवस्थापन गर्ने र गुणस्तरीय शिक्षाको सुधार कार्यक्रम अगाडि बढाउन लागेका छौं ।”

प्रमुख थापाले केयुकेएलसँग समन्वय गरी मेलम्चीको पानी नगरपालिकाका जनताका लागि खुवाउन नगरपालिकाले ६०/४० को अवधारणाअनुरूप २० लाख लिटर खानेपानी आपूर्तिका लागि ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । नगरपालिकाको विकासका लागि सबै दलहरु एक ढिक्का भई अघि बढेकाले नै आज यो नगरपालिका उत्कृष्ट रहेको उनले बताए ।

नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले सूर्यविनायक नगरपालिकामा बढ्दो शहरीकरणले गर्दा यहाँका जनतालाई खानेपानी खुवाउने कर्तव्य नगरपालिकाको रहेको बताइन् । उनले सिपाडोलको आशापुरी र नैचालमा ड्याम, जलाशय र पानी पोखरी बनाएर नगरवासीलाई पानी खुवाउन सरोकारवालालाई घच्घच्याउनु पर्नेमा जोड दिइन् । पानी किफायती गर्न सल्लाह दिँदै उनले भनिन्, “अबको चुनौती भनेको पानी किफायती गर्नुपर्ने देखिन्छ । जस्तै, लुगा धुनलाई वासिङ्ग मेसिन प्रयोग गर्ने, हातमा सेनिटाइजर प्रयोग गरी पानीको बचाउ गर्नुपर्छ ।”

सूर्यविनायक नगरपालिका वडा नं. ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नं. ६ का वडाध्यक्ष ईश्वर खड्का, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, उपभोक्ता समितिका अध्यक्ष पूर्ण विसुन्खें र सचिव भरत संग्रौलाले उद्घाटन समारोहमा आ–आफ्ना मन्तव्य व्यक्त गरेका थिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर