गुल्मीमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको मृत्यु

(मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको पहिरो पन्छाउँदै नेपाली सेना)

काठमाडौं । गुल्मीको मालिका गाउँपालिका–६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको वर्षासँगै आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यमबहादुर विक भन्ने भेषबहादुर कामीको घर पुरिएको हो । पहिरोमा पुरिएका ५५ वर्षका भेषबहादुरसहित उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सूर्यभान चौधरीले जानकारी दिए । पहिरोमा परेर बेपत्ता पाँच जनाको खोजीका लागि बिहानैदेखि नेपाल प्रहरीसहितका सुरक्षा निकाय र स्थानीय परिचालन भएका थिए । बिहान प्रहरीले उनीहरूको शव निकालेको हो । यस क्षेत्रमा अहिले भीषण वर्षा भइरहेको छ ।
यसैबीच बागलुङमा पहिरोको कारण मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको बागलुङ खण्ड अवरुद्ध भएको छ। शुक्रबार राती परेको भारी वर्षातका कारण मध्यपहाडी लोकमार्ग र कालिगण्डकी कोरिडोरको धेरै स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। मध्यपहाडी लोकमार्गको काठेखोला खण्डमा पहिरो जाँदा बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार काठेखोला गाउँपालिकाको विहुँमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको हो। काठेखोलामा नेपाली सेनाको श्रीमेहर गणको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ। पहिरोको कारण बागलुङबाट बुर्तिबाङ सहित रुकुम जाँदै गरेका र बागलुङ आउँदै गरेका सवारीसाधन विचमै अलपत्र परेका छन्।

भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह

भारतको उत्तराखण्ड प्रान्तको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध शनिबार खोलिने भएको छ। एनएचपीसी लिमिटेड र धौलिगङ्गा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध शनिबार बिहान ६ बजेदेखि आइतबार बेलुका ६ बजेसम्म खोलिने भएको हो। बाँध खोलेका बेला र खोलिएको केही घण्टा पश्चात महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए। एनएचपीसी लिमिटेड, धौलिगङ्गा पावरस्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलासयमा पानीको प्रवाह वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो।
बाँध खोलेको बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। लगातारको वर्षा र बाँध खोलिए पश्चात महाकाली नदीमा जलस्तर बढ्ने खतरा भएकाले नदी वारपार नगर्न पनि आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर