सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा तीन दल सकारात्मक

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका बाँकी विषयमा सहमति जुटाउन शीर्ष तीन दल सकारात्मक देखिएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार साँझ बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउनुपर्छ भन्ने विषयमा शीर्ष दलका नेताहरु एकमत रहेको बताए । उनले भने, “विधेयकका जुन–जुन बुँदामा विगतमा सहमति जुट्न सकेको छैन ती विषयमा सहमतिमा पुर्‍याएर टुङ्ग्याउने भन्नेमा उहाँहरु एकजुट हुनुहुन्थ्यो ।”

शान्ति प्रक्रियाको पूर्णता र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा केन्द्रित बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई कसरी अगाडि बढाउने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी चाँडो टुङ्ग्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको मन्त्री गिरीले बताए । उनले भने, “सङ्क्रमणकालीन न्यायको विषयमा धेरै बुँदामा सहमति भइसकेको छ । तीन÷चारवटा बुँदामा सहमति जुट्न बाँकी छ । मलाई लाग्छ यति कुरामा सहमति भइसकेपछि हामीले यो विषयमा ‘ब्रेक थ्रु’ गर्छौं ।”

उनले खासगरी मेलमिलापका सन्दर्भमा पीडित पक्षको स्वतन्त्र सहमति, गम्भीर मानवअधिकार उल्लङ्घन र मानवअधिकार उलङ्घनको विषय, बालसेनामा भर्ती भनिएकाका विषयमा छलफल गरेर समान दृष्टिकोण बनाउनुपर्ने स्थिति रहेको बताए । द्वन्द्वका बेला पीडित भएकालाई कसरी क्षतिपूर्ति दिनेलगायत विषयमा छलफल हुन बाँकी रहेको उनको भनाइ थियो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर