नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध, विराटनगरका अधिकांश क्षेत्र डुबानमा

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलवीरेमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार आज बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि अवरुद्ध सडक खोल्ने प्रयास जारी छ । हाल पानी परिरहेकाले द्रुत गतिमा पहिरो पन्छाउन समस्या भएको उनले बताए ।

यसैबीच मंगलबार रातिबाट सुरु भएको भारी वर्षाका कारण विराटनगरका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानका कारण विराटनगरको जनजीवन प्रभावित बनेको छ । पछिल्लो ७ घण्टा विराटनगरमा लगातार भारी वर्षा भएको थियो । पानीको निकास नहुँदा शहर र नगरका ग्रामीण क्षेत्रमा पानी जमेको छ । बस्ती क्षेत्रमा जमेको पानीले पक्का घरभित्र पानी पसेको छ भने खोलाको सतह बढ्दा खोला किनारका बस्तीहरु जोखिममा परेका छन् ।

बजार क्षेत्रका अधिकांश बाटोमा पानी भरिएका कारण हिंडडुल गर्न समस्या भएको छ भने कच्ची घरहरुमा पानी पसेर सर्वसाधारण समस्यामा परेका छन् । वर्षाको कारण केसलिया खोलाको बाढी विराटनगर १२ को बखरी, दरैया, बराहाटोल, मलौना, सिमराहीका दुई दर्जन घर डुबानमा परेका छन् । विराटनगर १२ का वडा सदस्य कुशेश्वर राजवंशीले डुबानमा परेका घरका परिवारहरुलाई नजिकै रहेको सामुदायिक भवन र बखरी स्कुलमा राखिएको जानकारी दिए ।

केसलिया खोला भरिएर पानी बस्तीमा पसेका कारण दक्षिण पश्चिममा रहेको केही बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । खोलाको बाढी बस्तीमा पसेपछि स्थानीहरु त्रासमा परेका छन् । लगातारको वर्षाका कारण खोलाहरुमा आएको बाढीले विराटनगरका ४, ५, ६, ८, १२, १५, १६, १७, १८ का केही बस्तीका घरहरु डुबानमा परेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

विराटनगरमा डुबानको समस्या देखिए पनि अहिलेसम्म कुनै मानवीय क्षति भएको सूचना नआएको प्रहरीले जनाएको छ । प्रहरी, स्थानीय युवाहरु जनप्रतिनिधिहरु डुबानबाट प्रभावितहरुलाई सहयोग गर्न विभिन्न ठाउँमा खटिएका छन् । विराटनगर महानगरपालिकाके विपद् प्रतिकार्य टोली बिहानैदेखि बन्द भएको नाला तथा पैनी खोल्न विभिन्न वडामा जेसिभी लिएर पुगिरहेको सरसफाइ तथा वातावरण शाखाका अधिकृत पुनम दाहालले जानकारी दिए ।

विराटनगरको मुख्य बजार क्षेत्रमा पर्ने मुनालपथ, भृकुटी चोक, नेपाल आयल निगम क्षेत्र, दुग्ध विकास संस्थानको आयोजनास्थल जलमग्न बनेका छन् । दुग्ध विकास संस्थान विराटनगर आयोजनाका प्रमुख परमेश्वर चौधरीले कार्यालयको तल्लो तलामा पानी पसेर लेखाका महत्वपूर्ण फाइलहरु भिजेको र कार्यालयको काम प्रभावित भएको बताए । एक घण्टायता भने विराटनगरमा वर्षा केही कम भएको छ । तीन चार घण्टा वर्षा रोकिएमा अधिकांश डुबान क्षेत्रको पानी कम भई केही सहज अवस्था आउने अधिकृत पुनम दाहालले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर