प्रेरणादायी प्रसंग : मानिस जीवनमा किन निराश हुन्छन् ?
काठमाडौं । के तपाइँ चिन्तित, व्यथित, अवशाद, जसलाई इन्जाइटी, डिप्रेसन छ, जसलाई तनाव छ, जो कहिल्यै प्रशन्न छैन, बिहान सबेरै उठेर आफ्ना परिवारका सदस्यसँग झगडा र लड्न निहुँ मात्र खोजिरहन्छ । जसलाई भय, चिन्ता, उन्माद, आवेश, जसमा अल्पता, अभाव जो कहिल्यै पनि आफूसँग नै प्रशन्न रहन सकेनन् । जो सन्तुष्ट रहन सकेन, मात्र दुर्भाग्यको शिकारको कुरा गरिरहन्छ । मेरो घर नयाँ छैन । मेरा पत्नी राम्री छैन । मेरा बच्चाहरूका बानी ठीक छैनन् । मेरा पति पनि ठीक छैन भनेर नाना तरहले नकारात्मक कुरा मात्र गरिरहन्छ । यी यावत् असन्तुष्टि र आफ्नो जीवनदेखि हैरान भएकाहरूका लागि यहाँ योग वाशिष्ठ नामक ग्रन्थ सहायक हुन आउँछ । जुन प्रभु श्रीरामलाई उनका गुरु वशिष्ठले केवल रामलाई मात्र सुनाएको थियो ।
कथा यसप्रकार छ : एकपटक विश्वामित्र वशिष्ठको हत्या गर्न भनी नांगो तरवार लिएर वशिष्ठको आश्रममा रहेको एक रूखपछाडि लुकेर बसिरहेका थिए । विश्वामित्र यो ताकमा थिए कि जुनबेला वशिष्ठलाई गहिरो निद्रा लाग्छ, त्यतिबेला गर्दन छप्काउने । साँझपख लुकेका विश्वामित्र रातको प्रतीक्षामा थिए ।
वशिष्ठका पत्नी अरुन्धतीले भनिन्, हे स्वामी, हाम्रो आश्रममा सर्वथा आनन्द छ, आल्हादित छ, शान्ति छ तर आज जुन ढंगले प्रशान्तवाहिता, अनुपम आल्हाद, यस्तो माधुर्य, रस मैले कहिल्यै देखिनँ । मलाई आज आफ्नै आँगनको माटोको धुलो शिरमा राख्न मन लागिरहेको छ । आज किन किन हाम्रोे आफ्नै आँगनका वृक्षहरूका ओइलाएर पहेँला भएका पातहरू पनि प्यारो लागिरहेछ । थाहा छैन म पागल हुन लागेकी हुँ कि के हो । यस्तो अत्यन्त महनीय, भगवतीय लागिरहेछ । आश्रमका कुना कुना, कण, कणलाई पूजा गर्न मन लागिरहेको छ । हाम्रै आश्रम पनि स्वर्ग जस्तो लागिरहेको छ, हाम्रै आश्रममा पनि ब्रह्मानूभूति, रसानुभूति भइरहेको छ, हे स्वामी के कारणले होला, मलाई थाहा छैन । मेरा जिज्ञासालाई शान्त गरिदिनु हवस ।
तब वशिष्ठ आफ्ना पत्नी अरुन्धतीलाई भन्छन्, थाहा छ, आज तिमीले जति पनि पहिले जिज्ञासा राखेकी थियौ, यी सब ऋषि विश्वामित्रको तपका कारण भएको हो । उनैका तपका कारण यस धर्तीमा आनन्दको रस वर्षा भइरहेको छ । उनी महान् ऋषिवर हुन् ।
अरुन्धती भन्छिन्, हे स्वामी त्यो विश्वामित्र जसले हाम्रा सय सय बच्चाहरू हत्या गरेका थिए । यो त हुनै सक्तैन् स्वामी ।
तब वशिष्ठ भन्छन्, हो उनै विश्वामित्र जसको तपका कारण आज सारा धर्तीमा माधुर्यता छाएको छ । विश्वामित्रले त हाम्रा सय बच्चाको हत्या त ख्याल ख्यालमा गरेका थिए कि हामीसँग ज्ञान छ कि छैन, हामीले कहीँ कतै विवेक त गुमाएनौं भनी एक पटक सोचौं त ।
अरुन्धती फेरि भन्छिन्, त्यसो भए स्वामी मलाई ती महान् ऋषिवरसमक्ष लैजानुस्, म उनको पाउ स्पर्श गर्न चाहन्छु, रीतपूर्वक पूजा गर्न चाहन्छु ।
वशिष्ठ र अरुन्धती सम्पूर्ण संवाद विश्वामित्रले सुनेर बसेका थिए । पतिपत्नीको त्यो निष्कपट, निर्दोष र हृदयविभोर संवादको प्रभावका कारण हिंसा उन्मुख विश्वासमित्रको मन आगोको अगाडि हिँउ पग्लेझै पग्लन थाल्यो र उनले हिंसा त्यागेर आध्यात्मतर्फ लीन हुने निधो गरेर लाजले शिर निहुँ¥याएर वशिष्ठ र अरुन्धतीलाई भेट्दै नभेटिकन हिँड्न तयार भएका विश्वामित्रलाई वशिष्ठ दम्पत्तीले प्रदक्षिणा गरे ।
विश्वामित्रले मनै मन के सोचे भने म यिनको हत्या गर्न आएको तर यिनी त मेरो गुणगान र मलाई उल्टो महान् ऋषिवर भनेर पुकार्दै छ, मेरो आदर गरिरहेका छन्, म कस्तो मूर्ख रै छुँ, ममा रत्तिभर पनि विवेक रहेन छ, म त पशु समान भएँ ।
वशिष्ठ दम्पत्तीको अतुलनीय स्वागत, सत्कारबाट लज्जित भएका विश्वामित्रलाई यो भन्न कर लाग्यो कि होइन वास्तवमा म महान् होइन, तपाइँहरू नै मेरा लागी महान्, पूजनीय, आदरणीय र महनीय हुनुहुन्छ । उत्ति भनेर विश्वामित्र वशिष्ठ आश्रमबाट हिँडेका थिए ।
त्यसकारण अध्यात्म चिन्तन र अभ्यास त्यो शस्त्र, अस्त्र हो जसले हिंसालाई छिनेर लिने ताकत राख्दछ ।
आज यो विश्वमा जत्ति पनि दुर्भिक्ष, आतंक, असमानता, शोषण, थिचोमिचो, विभेद, अन्याय, अत्याचार, व्यभिचार, भ्रष्टाचार, पापाचार र बेथिति छन् त्यसलाई उन्मूलन गर्ने एक मात्र उपाय हो । यस धर्तीलाई आध्यात्मिक बनाउनु होस्, युद्धोन्माद आफैँ हटेर जानेछ । र, यही वशिष्ठले श्रीरामलाई यही नै शिक्षा दिएका थिए । जुन शिक्षाले अज्ञानताको नष्ट हुन्छ । अपरिग्रह, चिन्ता, भय, निराशा समाप्त हुन्छ । जो–जसले जीवनदेखि थकान महसुस गरो छन्, उनीहरूले पनि योग वाशिष्ठ नामक ग्रन्थ एक पटक अध्ययन गरेमा जीवनप्रतिको सकारात्मक अनुराग उत्पन्न हुनेछ । (प्रस्तुत सामग्री योग वाशिष्ठ नामक पुस्तकबाट संकलन गरिएको हो)