नेपाल र चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति

काठमाडौं । नेपाल र चीनबीच परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग बनाउने सहमति भएको छ । काठमाडौंमा भएको नेपाल र चीनका परराष्ट्र मन्त्रालयबीचको कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा मन्त्रीस्तरीय आयोग बनाउनेगरी सहमति भएको हो । कूटनीतिक परामर्श संयन्त्रको बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल र चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व चीनका उपविदेशमन्त्री सुन वेइतोङले गरेका छन् ।

बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे समीक्षा हुनुका साथै विगतमा भएका सम्झौता र समझदारीपत्रको कार्यान्वयनमा भएको प्रगति तथा निर्णयहरुको मूल्याङ्कनसमेत गरिएको छ । आपसी सहमति भएका क्षेत्रमा आउँदा दिनमा सहयोगलाई थप प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गर्दै पारस्परिक लाभका लागि आर्थिक अवसर सिर्जना गर्न मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र सचिव लम्सालले सन् २०२६ मा नेपाल कम विकसित देशबाट स्तरोन्नति भएपछि विकास सहयोग अभिवृद्धि गर्न चिनियाँ पक्षको प्रतिबद्धताका लागि धन्यवाद व्यक्त गरिन् । उपविदेशमन्त्री वेइतोङले एक चीन सिद्धान्तप्रति नेपालको प्रतिबद्धताको प्रशंसा गरे । त्यस्तै सन् २०२५ लाई नेपाल–चीन भ्रमण वर्ष मनाउने सन्दर्भमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन, व्यापार, लगानी, पूर्वाधार विकास, कनेक्टिभिटी, कृषिलगायतका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने उपायबारेसमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । दुवै पक्षले सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवलाई विशेष कार्यक्रम र गतिविधिका साथ मनाउने निर्णय गरेका छन् ।

नेपालमा रहेका चीनका उपविदेशमन्त्री वेइतोङले आज राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । गत सोमबार नेपाल आइपुगेको चिनियाँ उपविदेशमन्त्री नेतृत्वको टोली आज बेइजिङ फर्कंदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर