अब नयाँ कामदारले पनि इजरेल जान पाउने, कस्ता छन् सुविधा र पूर्वसर्त

गत वर्षको अक्टोबरमा इजरेल- हमास युद्ध सुरु भएदेखि अवरुद्ध हुन पुगेको नयाँ नेपाली कामदारहरूलाई इजरेल पठाउने प्रक्रिया पुन: सुरु गरिएको नेपाली अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार नेपाल र इजरेलबीच भएको सरकार-सरकारबीचको सम्झौता (जीटूटी) मार्फत् नयाँ कामदार पठाउने प्रक्रिया फेरि सुरु भएको हो। गत वर्ष अक्टोबर ७ मा भएको हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले गाजामा सैन्य कारबाही थालेको थियो। इजरेली कारबाहीका कारण त्यहाँ अहिले पनि युद्धको स्थिति छ।

हमासको हमलामा परेर ‘लर्न एन्ड अर्न’ कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो। त्यस घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अज्ञात छ। त्यसयता नयाँ कामदार पठाउने प्रक्रिया अवरुद्ध थियो। ‘लर्न एन्ड अर्न’ कार्यक्रममा नेपाली विद्यार्थीलाई पठाउन अझै अझै खुलेको छैन। वैदेशिक रोजगार मामिलाका विज्ञहरू भने इजरेल नेपाली कामदारका लागि अझै पनि सुरक्षित स्थान हो भन्ने सुनिश्चित नभएकाले सरकारले हतारमा निर्णय गरेको बताउँछन्।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता गोविन्दप्रसाद रिजालका अनुसार ‘स्याहार क्षेत्र’ अर्थात् ‘केअरगिभर’का रूपमा नेपालीहरूलाई पठाउन लागिएको हो। नेपालले वर्षौँदेखि इजरेलमा केअरगिभरका रूपमा कामदारहरू पठाउँदै आएको छ। युद्धका कारण अवरोध हुनुअघि कोभिड महामारीका बेला पनि त्यस्ता कामदार पठाउने प्रक्रिया रोकिएको थियो। यद्यपि यसबीचमा गत वर्ष नै भाषा तथा दक्षतालगायतका परीक्षणहरू पूरा गरेका केही नेपाली कामदारलाई सरकारले इजरेल जान अनुमति दिएको थियो। त्यस्तै विभिन्न कारणले नेपाल फर्केर पुन: श्रम स्वीकृति लिएर जानेहरूले पनि अनुमति पाएका थिए। तर ‘जीटूटी’अन्तर्गत नयाँ कामदारलाई इजरेल पठाइएको थिएन।

रिजालले भने, “इजरेल सरकारले केअरगिभरका रूपमा काम गर्ने कामदार चाहियो भनेर माग गरेको थियो। हामीले त्यसैअनुसार सूचना निकालेका छौँ। यो नयाँ कामदारका लागि आएको माग हो।” “पहिले विशेष गरी नेपालीहरू त्यहाँका ज्येष्ठ नागरिकहरूको स्याहारका लागि जाने गरेकामा यस पटक केअरगिभर भए पनि नयाँ क्षेत्रबाट माग आएको छ।” उनले दिएको जानकारीअनुसार यो पटक इजरेलले दीर्घकालीन स्याहारकेन्द्रमा सहायक कामदारको रूपमा नेपालीहरूलाई लिन चाहेको छ। त्यस्ता केन्द्रमा बालबालिका, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपाङ्गता भएका व्यक्तिहरूको स्याहारका लागि कामदार माग भएको हो।

कामदार माग भएपछि सरकारले मङ्गलवार सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ। वैदेशिक रोजगार विभागले जारी गरेको उक्त सूचनाअनुसार कुल ८०० नेपाली कामदारको माग भएकोमा ५०० जना मुख्य उम्मेदवारका रूपमा रहने छन्। थप ३०० जना वैकल्पिक उम्मेदवारका रूपमा रहने सूचनामा उल्लेख गरिएको छ। इजरेल पठाइने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने छन्। उनीहरूलाई सकेसम्म चाँडै इजरेल पठाइने रिजालले बताए। उनले भने, “आवेदन कति पर्छ त्यसले पनि निर्धारण गर्छ। परीक्षणका लागि पनि समय लाग्न सक्छ। हामीले जतिसक्दो छिटो गरेर पठाउन भनेका छौँ।”

न्यूनतम योग्यता के हो

इजरेल जान चाहने नेपाली कामदारका लागि विभिन्न खाले न्यूनतम योग्यताहरू तोकिएका छन्।

ती यस्ता छन्:

  • २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने
  • कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनुपर्ने
  • कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमि (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १०+२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यता प्राप्त तालिम प्रदायक संस्थाबाट केअरगिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने
  • भिसाका लागि प्रक्रिया प्रारम्भ गर्दा आवेदकको राहदानीको म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने
  • विगतमा इजरेलमा गएर काम नगरेको हुनुपर्ने
  • बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरेलमा बसोबास नगरेको वा कार्यरत नरहेको हुनुपर्ने
  • मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुपर्ने। (बीबीसी नेपालीबाट साभार)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर