आगामी शुक्रबारसम्म एसइईको नतिजा सार्वजनिक हुने

काठमाडौं ।  २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आगामी शुक्रबारसम्म सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले शुक्रबारभित्रै नतिजा प्रकाशित गर्ने गरी तयारीको काम भइरहेको जनाए । ‘सकभर चाँडो नै एसईईको नतिजा विद्यार्थीलाई दिने गरि काम भइरहेको छ,’ उनले भने, ‘ढिलोमा शुक्रबारसम्ममा रिजल्ट आइसक्छ ।’

बोर्ड अर्न्तगतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले देशभरबाट परीक्षण भएर आएका उत्तरपुस्तिकाको अंक रुजुसहित इन्ट्री गर्ने तथा अंकलाई ग्रेडिङमा रुपान्तरण गर्ने काम अन्तिम चरणमा रहेको जनाएको छ । गत चैत १५ देखि २७ गतेसम्म सञ्चालित परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी थिए । जसमा छात्रा २ लाख ५० हजार ७ सय ७२, छात्र २ लाख ५३ हजार ६ सय २७ र लैगिक अल्पसंख्यक १५ जना रहेका छन् । तीमध्ये १५ हजार ७ सय ४९ जना प्राविधिक धारतर्फका विद्यार्थी रहेका छन् ।

यसपटक नयाँ पाठ्यक्रमका आधारमा एसइई परीक्षा सञ्चालन भएको थियो भने परीक्षार्थीको मूल्यांकनसमेत नयाँ लेटरग्रेडिङ पद्धतिअनुसार हुनेछ । जसमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजामा ननग्रेडिङमा पर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर