चीनको नेपालमाथि मुख्य जोड बीआरआई परियोजना

काठमाडौं । जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठकका लागि तीनदिने औपचारिक भ्रमणमा सोमबार नेपाल आइपुगेका छन्। काठमाडौं आएलगत्तै उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, मन्त्री सुनले बीआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग छलफल गरेका थिए। मन्त्री सुनले लामो समयदेखि बीआरआई परियोजनामाथि नेपालले ठोस कदम नचालेको गुनासो गर्दै उक्त परियोजना कार्यान्वयनका लागि ठोस कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार उनी आजदेखि काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठकमा सहभागी हुने छन्।
मन्त्रालयका अनुसार परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित हुने भनिएको छ बैठकको नेतृत्व नेपालका तर्फबाट सचिव लम्साल र चिनियाँँ पक्षबाट उपविदेशमन्त्री सुनले नै गर्ने छन्। परराष्ट्र मन्त्रालयका अधिकारीका अनुसार बैठकका लागि नेपाली पक्षले एजेन्डा तयार पारिसकेकोे छ।

नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबद्र्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ। यस्तै, व्यापार तथा भुक्तानीमा विज्ञ समूहको बैठक बस्नेबारे पुन एकपटक छलफल हुने भएको छ। व्यापार तथा भुक्तानीका लागि दुई मुलुकबीच विज्ञ समूह बनाउने निर्णय भइसके पनि हालसम्म एक पटक पनि बैठक बस्न सकिरहेको छैन। नेपाल–चीन व्यापारमा नेपालबाट राँगाको मासु र हेलेज घाँस निर्यात गर्ने यसअघिनै भइसकेको सम्झौता भए पनि कार्यान्वयनको चरणमा गइनसकेकाले उक्त विषय कहाँ पुग्यो भन्ने विषयमा पनि छलफल हुने भनिएको छ। मन्त्रालय स्रोतका अनुसार सीमापार २२० केभी प्रसारण लाइन निर्माण र नेपालमा चिनियाँँ लगानीका परियोजनालाई छिटो सम्पन्न गर्नेबारे पनि बैठकमा छलफल हुने बताइएको छ।

यसअघि नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १५औं बैठक गत वर्ष बेइजिङमा भएको थियो। बैठकले तात्कालीन अवस्थामा भएका निर्णय तथा समझदारी कार्यान्वयनका स्थितिका साथै अन्य थप द्विपक्षीय मुद्दामा छलफल भएको थियो। बैठकमा नेपालको नेतृत्व तत्कालीन परराष्ट्र सचिव भरतराज पौड्यालले र चीनको नेतृत्व उपविदेशमन्त्री सुन वेइडोंगले नै गरेका थिए। १४ औं बैठकले भने कोरोना महामारीपछिका सन्दर्भमा सहकार्य र समझदारीलाई अभिवृद्धि गर्न नेपाल र चीनबीच द्विपक्षीय संयन्त्रका सबै संयन्त्र क्रियाशील गराउने सहमति भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर