सूर्यविनायक नगरपालिकाको दुई अर्ब २४ करोड रुपैयाँको बजेट

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ का लागि दुई अर्ब २४ करोड रुपैयाँबराबरको बजेट प्रस्तुत गरेको छ । सूनपाको आज सोमबार बसेको १६ औं नगरसभाको अधिवेशनमा उपप्रमुख सरिता तिमसिना भट्टराईले आर्थिक वर्ष २०८१–०८२को बजेट प्रस्तुत गर्दै नगरपालिकाको नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमलाई टेवा पुर्‍याउन र त्यसको सफल कार्यान्वयन गर्न बजेट पूरकको रूपमा आएको बताइन् ।


उनले बजेटको शहरी पूर्वाधारको विस्तार एवं गुणस्तर प्रवर्द्धन गर्नु, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच र गुणस्तर सुनिश्चित गर्नु, गुणस्तरीय विद्यालय शिक्षा सुनिश्चितता र सीपमूलक प्राविधिक शिक्षाको विकास गर्नु, उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जना गर्नु तथा भरपर्दो र सुरक्षित सूचना प्रणालीको विकास, विस्तार र उपयोग गर्नु पाँच वटा मुख्य उद्देश्य रहेको उल्लेख गरिन् ।
उपप्रमुख भट्टराईले बजेटको शहरी विकास, आधारभत स्वास्थ्य सेवा प्रवर्द्धन, सामुदायिक शिक्षा क्षेत्रको पूर्वाधार था गुणस्तर प्रवर्द्धन, उद्यम प्रवर्द्धन तथा रोजगारी सिर्जना र सूचना प्रविधिमा व्यापक विस्तार गरी संस्थागत सुशासन प्रवर्द्धन गर्नु पाँच वटा प्राथमिकता रहेको बताइन् ।


उनले नगरको कृषि तथा पशुपन्छी विकासतर्फ ३ करोड ९४ लाख ५३ हजार, नगरप्रमुख रोजगार कार्यक्रमका लागि १ करोड, महिला उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न २० लाख र उद्यम व्यवसाय तथा रोजगारी तर्फ २ करोड २१ लाख ४० हजार रुपैयाँ विनियोजन गरेको उल्लेख गरिन् । बजेटमा सामुदायिक विद्यालयको भौतिक, प्राविधिक तथा संस्थागत क्षेत्रको सुधार गर्न निजीक्षेत्रमा रहेको व्यवस्थापकीय कौशललाई भित्र्याउनका लागि शिक्षा क्षेत्रमा २८ करोड ३७ लाख ३७ हजार विनियोजन गरिएको छ ।
यस्तै, नगर अस्पताल तथा स्वास्थ्य क्षेत्रमा २८ करोड १२ लाख २ हजार, मेलम्ची खानेपानीलाई थप वडाहरूमा वितरण गर्न र सूर्यविनायक बृहत् खानेपानी योजनाका लागि ५ करोड गरी खानेपानी तथा सरसफाइतर्फ ११ करोड १९ लाख १० हजार रुपैयाँँ विनियोजन गरिएको उपप्रमुख भट्टराईले बताइन् । उनले लैंगिक समानता र सामाजिक समावेशीकरणतर्फ ४ करोड ३ लाख, ९७ हजार बजेट छुट्याइएको बताइन् ।


यस्तै, पूर्वाधार विकास, स्थानीय सडक, पुल तथा भोलुङ्गे पुल इञ्जिनियरिङ प्रयोगशाला, एक वडा एक चोक सुधार, भवन तथा सहकारी विकास, सिँचाइ, सञ्चारतर्फ ८७ करोड १६ लाख २२ हजार रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् । बजेटमा वन तथा वातावरण संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला तथा ढल व्यवस्थापन, विपद् व्यवस्थापनका लागि २ करोड ५० लाख रुपैयाँँ राखिएको छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासन, सुरक्षा व्यवस्थापन, सूचनाप्रविधि, पञ्जीकरण व्यवस्थापन तथा सामाजिक सुरक्षा, सुशासन प्रवर्द्धन, अनुसन्धान तथा विकास, न्यायिक समिति, राजश्व सुधार तथा वित्तीय अनुशासनतर्फ पनि रकम राखिएको छ ।


उपप्रमुख भट्टराईले कुल बजेट दुई अर्ब २४ करोडमध्ये चालूतर्फ १ अर्ब १ करोड ५६ लाख ५३ हजार ५ सय र पुँजीगततर्फ १ अर्ब २२ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ रहने अनुमान गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर