भक्तपुर नगरपालिकाको २ अर्ब ६६ करोड ४३ लाखको बजेट

भक्तपुर । भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले नगरपालिकाको आव २०८१–८२ का लागि आन्तरिक स्रोत, नेपाल सरकार र बागमती प्रदेश सरकारबाट विभिन्न शीर्षकमा प्राप्त हुने अनुदान रकमका साथै ऋण सापटीसमेत गरी २ अर्ब ६६ करोड ४३ लाखको बजेट प्रस्तुत गरेकी छन् । विनियोजित बजेटको चालू खर्चतर्फ १ अर्ब ५७ करोड ३ लाख १० हजार रुपैया पुँजीगत खर्चतर्फ ९९ करोड ४० लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ १० करोड ५० लाख रुपैयाँँविनियोजित छ ।

बजेटमा शिक्षा क्षेत्रको लागि ५४ करोड, स्वास्थ्य क्षेत्रको लागि १३ करोड ३० लाख, सम्पदा पुनःनिर्माण र सांस्कृतिक संरक्षणको लागि १० करोड ७९ लाख, कृषि क्षेत्रको लागि ५ करोड २० लाख, वातावरण तथा सरसफाइको क्षेत्रमा १९ करोड ६५ लाख, पर्यटन प्रवद्र्धनमा ६ करोड ९५ लाख, भौतिक पूर्वाधारतर्पm ५७ करोड २१ लाख, खेलकुद तर्फ ४ करोड ५५ लाख, युवा तथा महिला लक्षित कार्यक्रमका लागि ४ करोड ३० लाख, सामाजिक सुरक्षातर्फ ४० करोड ५० लाख र विविध योजना तथा कार्यक्रमका लागि ५ करोड ८५ लाख बजेट विनियोजन गरिएको छ ।

शिक्षातर्फ ख्वप विश्वविद्यालय तयारी समितिका लागि विज्ञहरुको टोली गठन गरी प्रक्रिया अघि बढाउन आवश्यक बजेटको व्यवस्था गरिएको छ भने ख्वप इन्जिनियरिङ कलेजको बी ब्लकको नयाँ भवन निर्माणका लागि ५ करोड ५० लाख, नगरपालिकाभित्र सञ्चालित सामुदायिक आधारभूत तथा माध्यमिक विद्यालयहरुको भौतिक पूर्वाधार निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि अनुदान प्रदान गर्न २ करोड, शैक्षिक ऋणलाई यस वर्ष पनि निरन्तरता दिन २ करोड, नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरुमा कार्यरत कर्मचारी तथा सहयोगीहरुका लागि निजहरुले पाउँदै आएको तलबमा भक्तपुर नगरपालिकाको तर्फबाट प्रतिव्यक्ति मासिक २ हजारको दरले थप पारिश्रमिकको व्यवस्था गरेको छ ।
स्वास्थ्यतर्फ ख्वप अस्पताललाई थप सुविधा सम्पन्न बनाउन सीटी स्क्यान खरिदको लागि चालु आवमा विनियोजित रकमका अतिरिक्त ५ करोड, बेखाल स्वास्थ्य सेवा केन्द्र र खँचा पोखरी स्वास्थ्य चौकी निर्माण सम्पन्न गर्न १ करोड ५० लाख रकम विनियोजन विनियोजन गरेको छ ।

सम्पदा र संस्कृति संरक्षणतर्फ लायकु पाहाँ छेँ मौलिक शैलीमा पुनःनिर्माणका लागि ३ करोड ९० लाख र इन्द्रायणी द्यो छेँको लागि ८० लाख, लक्ष्मीनरसिंह मन्दिरको लागि ८० लाख, हाडा छेँको लागि ६० लाख र छुमा गणेश द्यो छेँको लागि ५० लाख बजेट विनियोजन गरिएको छ ।

कृषि क्षेत्रतर्फ कृषि उत्पादनहरुको भण्डारण एवं बजारीकरणका लागि लिवालीमा शीत भण्डारका लागि ३ करोड १० लाख, ५ नं. वडामा तरकारी बजार निर्माण सम्पन्न गर्नको लागि ३० लाख र किसान, मजदुर, डकर्मी, सिकर्मीलगायतका पेशाकर्मीहरुको सूचीकरण गरी परिचयपत्र वितरणको व्यवस्था गर्ने तथा कृषि ऋणको लागि रु १ करोड बजेट विनियोजन गरिएको छ ।

पर्यटन प्रवद्र्धनतर्फ आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय सांस्कृतिक अग्रजहरु, पर्यटन व्यवसायीहरु, स्थानीय उत्पादनकर्ताहरु तथा सरोकारवालाहरुको उपस्थितिमा सन्ध्याकालीन साँस्कृतिक पदयात्रा सञ्चालन गर्न तथा निश्चित ठाउँमा नियमित साँस्कृतिक प्रदर्शनी गर्ने व्यवस्था मिलाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

वातावरण सुधार तथा फोहोरमैला व्यवस्थानतर्फ १ करोड ३५ लाख र हनुमन्ते खोला तथा खासाङखुसुङ खोला सुधार तथा खोलामा रिटेनिङ वाल निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन १ करोड ५० लाख बजेट विनियोजन गरिएको छ । भौतिक पूर्वाधार निर्माणतर्फ नगरको गौरवको योजनाको रुपमा रहेको देकोचामा निर्माणाधीन अरनिको सभाभवन निर्माणको लागि आगामी आवको लागि १८ करोड, महेश्वरी खेल मैदानलाई स्तरीकृत गर्न तथा शहिद स्मृति खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न आवश्यक बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी व्यवस्थित पार्किङ निर्माण गरी सञ्चालनमा ल्याउन र नगरका विभिन्न ठाउँमा पार्किङको व्यवस्था गर्न १ करोड, भनपाद्वारा सञ्चालित देको मिवा इतापाके जग्गा एकीकरण आयोजनाका बाँकी भौतिक संरचना निर्माणलाई तीव्रता दिन तथा जग्गा धनी र मोहीहरूको जग्गा फिर्तालगायतका जग्गा प्रशासनका कार्यहरु अगाडि बढाउन १८ करोड र ख्वप टेलिभिजन सञ्चालनका लागि आवश्यक जनशक्ति तथा पूर्वाधार निर्माणका लागि १ करोड बजेट विनियोजन गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर