नारायणकाजीको रविमाथि आक्रोश : “ठूल्ठूला कुरा नगरौं”

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूले गृहमन्त्रालयको नेतृत्व गर्दा पञ्चायतकालदेखिको फाइल खोजेको बताएका छन् । आज शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू गृहमन्त्री हुँदा खर्बौंको जग्गा राज्यको नाममा ल्याएको बताए ।

‘अहिले सुशासनको आवश्यकता छ । योभन्दा अगाडि म गृह मन्त्रालयमा थिएँ, तपाईँहरुलाई थाहा छँदै थियो । गृहमन्त्री हुँदाखेरी पञ्चायत कालदेखि सबैलाई निकालेर, कहाँ कहाँ गलत भएको छ ? अलिकति पैसा छ, वा राज्य आफैंसँग छ, पैसाको बलमा राज्यसँग आफ्नो पहु्ँच छ भने जे गरेपनि हुन्छ भन्ने मान्यतालाई भत्काउनुपर्छ भनेर उठाएर ल्याएर खर्बौंको जग्गा सरकारको बनाइयो ।’ उनले भने, ‘ती मान्छेहरु जेल हालियो । भुटानी शरणार्थी प्रकरणमा जेल हालियो । साह्रा अरु कामहरु के–के गरियो ? तपाईँहरुलाई थाहा छ । सुशासन स्थापित नगरिकन विकास अगाडि बढ्दैन । त्यसको निम्ति हामी तयार हुनुपर्छ ।’

साथै, वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लक्षित गर्दै उनले सत्तामा नहुँदा ठूला–ठूला कुरा गर्नेहरुले अहिले केही गर्न नसकेको बताए । उनले भने, ‘सुशासन त स्थापित गर्ने तर, आफ्ना मान्छे आउने देखियो भने केस उठाउँकी नउठाउँ भन्न थाल्यो भने देश बन्छ ? हुँदैन नि । अरु बेलामा ठूल्ठूलो कुरा गर्ने, ठूल्ठूलो, राम्रो–राम्रो कुराकानी गर्ने, आफ्नै पालो आएपछि कसरी मिलाउने ? कसरी बन्छ त्यसरी देश ?’

गृहमन्त्री लामिछानेतर्फ लक्षित गर्दै उनले क्षमतावान नै भएपनि लिडरसीपको पहिलो क्वालीटी निष्ठा नै हुनुपर्ने बताए । उनले निष्ठाविना राजनीतिक वा व्यवसायिक कुनै पनि नेतृत्व सफल हुन नसक्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर