नयाँ नीति र कार्यक्रमसहित सूर्यविनायक नगरपालिकाको नगरसभा प्रारम्भ

भक्तपुर । सूर्यविनायक नगरपालिकाको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । नगरपालिकाको १६ औं नगरसभामार्फत नगर प्रमुख वासुदेव थापाले शुक्रबार नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नगरप्रमुख थापाले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा २२२ वटा बुँदाहरु समावेश गरिएको छ ।

प्रमुख थापाले समवन्य, सहकार्य र सह-अस्तित्वको सिद्धान्त अंगीकार गरेको संघात्मक शासन प्रणालीबमोजिम संविधानतः स्थापित अधिकार सम्पन्न नगरपालिकाले दीर्घकालीन सोच लिएको बताए । “दिगो विकास, व्यवस्थित शहरः स्वच्छ, समृद्ध सूर्यविनायक नगर” भन्ने नगरपालिकाको प्रमुख उद्देश्य रहेको उनले उल्लेख गरे ।

उनले बढ्दो शहरीकरणसँगै नगर क्षेत्रमा विस्थापित हुन थालेको पशुपालन र कृषिको निरन्तरताका लागि कृषि भूमिको संरक्षण गर्न र यसको विकास र विस्तारका क्षेत्रहरुमा आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने कार्यक्रमहरुमाथि जोड दिइएको पनि जानकारी दिए ।

नगरपालिकाको नयाँ नीति तथा कार्यक्रममा शहरी क्षेत्रमा बढ्दै गएको घरायसी फोहोरलाई न्यूनीकरण गर्दै प्राङ्गारिक मल प्रवर्द्धन गर्न कौशी तथा छत खेती, करेसाबारी, भर्टिकल गार्डेन, हाइड्रोपोनिकजस्ता वैकल्पिक खेती प्रविधिमा जोड दिएको छ ।

पर्यटकीय क्षेत्रका थप सम्भाव्यताको खोजी गरी पूर्वाधार विकास तथा प्रवर्द्धन गरिने बताउँदै प्रमुख थापाले पर्यटन तथ्यांक प्रणालीको सूचना, प्रविधि तथा सामाजिक सञ्जालको प्रयोग गरी विकास तथा विस्तार गर्दै पर्यटकीय क्षेत्रहरुको वाह्य क्षेत्रमा प्रचारप्रसार गरिने जानकारी दिए । यस्तै, सांस्कृतिक जातीय, धार्मिक परम्परामा आधारित रैथाने उत्पादनमा आधारित होमस्टेको विकास गरी ग्रामीण पर्यटनको प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

नगर क्षेत्रका कम्तिमा २५ जनालाई रोजगारी उपलब्ध गराउने, उद्यम व्यवसायको व्यवसाय नवीकरण शुल्कमा छुट सहुलियत प्रदान गर्ने नीति अवलम्बन गरिने, सबै प्रकारका सहकारीको जोखिम व्यवस्थापनका लागि अनुगमन संयन्त्र गठन गरी परिचालित गरिने र नगरपालिका क्षेत्रमा रहेका करदाताहरुको विद्युतीय लगतका लागि नगरपालिकाको मोबाइल एपसँग जोडी सम्बद्ध साझेदारीहरुसँगको सहकार्यमा करदाताहरुको एकीकृत विवरण संकलन गर्न व्यवस्था मिलाइएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

अनिवार्य आधारभूत निःशुल्क र जीवनोपयोगी माध्यमिक शिक्षाः सामाजिक पूँजीको विकास र विस्तार गर्ने सूर्यविनायकको इच्छा भन्ने नारालाई सार्थकता प्रदान गर्न सामुदायिक शिक्षाको गुणस्तर प्रवर्द्धनको महाअभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा जनाइएको छ । यस्तै, सूर्यविनायक नगरपालिका वडा नं. ७ मा पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा इन्जिनियरिङ तथा नर्सिङ क्याम्पस सञ्चालनमा ल्याउन सहजीकरण गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा भनिएको छ, “संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा राष्ट्रियस्तरको रंगशाला, खेलग्राम, नगरस्तरीय खेलमैदानको निर्माण कार्यलाई तीव्रता दिइनेछ । नगरपालिकाभित्र रहेको डोलेश्वर महादेवको प्राङ्गणमा सञ्चालित डोलेश्वर आधारभूत विद्यालयलाई क्रमशः संस्कृत/वैदिक विद्यापीठको रुपमा सञ्चालन गर्न आवश्यक समन्वय र सहयोग गरिने छ । लोक कल्याणकारी विज्ञापन तथा सूचनाको प्रसारण तथा वितरणसम्बन्धी आवश्यक कानूनी प्रवन्ध गरिनेछ । एफएम रेडियो इजाजत प्रणालीको नीति तर्जुमा गरी कार्यान्वयन गरिने छ ।”

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर