भक्तपुर नगरसभाको अवसरमा ख्वप अस्पतालमा आइसियु सेवा प्रारम्भ

भक्तपुर । भक्तपुर नगरपालिकाको १६ औ नगरसभा आजदेखि प्रारम्भ भएको छ । नगरसभाको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एक समारोहकाबिच उद्घाटन गरेका छन् । नगरसभाको उद्घाटन गर्दै सांसद सुवालले नगरपालिकाको नीति तथा कार्यक्रमको सफलतापूर्वक कार्यान्वयन गर्न जनताको गाँस, बाँस र रोजगारीको बन्दोबस्त हुनुपर्ने पक्षमाथि जोड दिए ।

उनले मुख्यमन्त्री र प्रदेश प्रमुखहरुले आ–आफ्नो निर्वाचन क्षेत्रमा बसी त्यस ठाउँको विकासतर्फ जोड दिनुपर्ने बताउँदै कृषिजन्य खाद्यान्न विदेशबाट आयात रोक्न कृषि क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने बताए । नेपाल—भारतबिचको खुल्ला सीमा नियमित गरिनुपर्ने बताउँदै उनले दुई देशबिचको खुल्ला सीमा बन्द गरियो भने मात्र नेपालको धेरै समस्या समाधान हुने तर्क गरे ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुर नगरको चौतर्फी विकासको निम्ति नगरपालिकाले गरेका हरेक कार्यमा नगरवासीहरूको सँधै साथ र सहयोग प्राप्त हुँदै आएको स्मरण गरे । सोही क्रममा नगरको विकासको निम्ति विगतदेखि वर्तमानसम्म विभिन्न भूमिकामा रही प्रत्यक्ष र अप्रत्यक्ष साथ र सहयोग गर्ने सबैमा भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गरे ।

भक्तपुर नपाले संविधान र कानुनले दिएका अधिकारभित्र रही भक्तपुरवासीको हितलाई केन्द्रमा राखेर कार्य गर्दै आएको चर्चा गर्दै उनले स्थानीय निर्माणले राष्ट्रिय स्तरको सेवा दिने भावनाअनुरूप काम गर्दै आएको र निर्वाचन घोषणापत्रमार्फत जनतालाई दिएको वचन एक एक गरी पूरा गर्ने चरणमा रहेको बताए । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले विभिन्न सीपमूलक तालिम, युवा उद्यामशील ऋण प्रवाह गरी युवाहरुलाई व्यवसाय गर्न प्रोत्साहन गर्दै आएको बताउँदै उनले नगरपालिकाबाट प्रवाहित सेवा सुविधा प्रविधिमैत्री बनाउने आवश्यक तयारी भइरहेको बताइन् ।
नगरको शान्तिसुरक्षा अझ प्रभावकारी बनाउन नगर प्रहरीको व्यवस्था गर्दै आएको बताउँदै उनले नगरपालिकाको कर संकलन, नक्सा पास, आर्थिक र प्रशासनिक व्यवस्थामा समेत सफ्टवेयर प्रयोग गरी प्रविधिमैत्री सेवा प्रवाहको व्यवस्थाको लागि तयारी भइरहेको अवगत गराइन् ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत अशोककुमार पोखरेलले नगरसभा पूर्ण सफलताको कामना गर्दै जिल्ला प्रशासन कार्यालयबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य तथा जिप्रकाबाट भइरहेको सेवा प्रवाहबारे जानकारी दिए ।

भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रोशनीकुमारी श्रेष्ठले भक्तपुर नगरको सेवा प्रवाह र विकास निर्माण कार्य देशकै लागि उदाहरणीय छ भन्दै भक्तपुर नपाले जनहितमा उत्कृष्ट कार्य गर्दै सबै क्षेत्रमा पारदर्शी र आर्थिक अनुशासनमा काम गर्दै आइरहेको बताइन् । त्यस्तै ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालको गरिमा बढ्दै गइरहेकोमा गौरव अनुभूति भएको बताउँदै ख्वप अस्पतालले आजबाट व्रम्हायणी भवनबाट आइसियु सेवा सञ्चालन गरेको जानकारी गराए ।

ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य इ. सुनिल दुवालले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरुको गुणस्तरीय शिक्षा कार्यान्वयनको लागि शिक्षक कर्मचारीहरुलाई तालिम दिनुका साथै उच्च शिक्षा अध्ययनको व्यवस्था गर्दै आइरहेको बताए ।

कार्यक्रममा सांसद सुवालले भक्तपुर नगरभित्र मापदण्डअनुसार नियमित रुपमा भवन निर्माण गरी निर्माण सम्पन्न प्रमाणपत्र लिएका भक्तपुरका स्थायी वासिन्दालाइृ नगद अनुदान प्रदान गरेका थिए । भक्तपुर नपाले वितरण गरेको अनुदान रकम जम्मा १९ लाख २४ हजार ७२५ रुपैयाँँ रहेको छ । नगरसभाको अर्को बैठक २०८१ असार ९ गते दिनको १ बजे आइतबार बस्ने गरी बैठक स्थगित भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर