अछाममा छाउ भएकी एकजना किशोरी बलात्कृत

काठमाडौं ।  सुदू्रपश्चिम प्रदेशको अछाम जिल्लामा छाउ (महिनावारी) भएकी एकजना किशोरी बलात्कृत भएको घटना बाहिर आएको छ । जिल्लाको पञ्चदेवल विनायक नगरपालिकामा उनी छाउगोठ (महिनावारी भएका बेला बनाएको बस्ने ठाउँ) मा बलात्कृत भएकी हुन् ।

पञ्चदेवल विनायक नगरपालिकामा मामाघरमा बस्दै आएकी १६ वर्षीया ती किशोरी छाउगोठमा मंगलबार बिहान अचेत अवस्थामा भेटिएकी थिइन् । जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र पञ्चदेवल विनायक नगरपालिकाकी नगरप्रमुख अम्बिका चलाउनेलगायतले पीडित किशोरीलाई उद्धार गरेर जिल्ला अस्पताल अछाम पठाएका थिए ।

अनुसन्धानक्रममा र किशोरीलाई सोधपुछका क्रममा उनले आफूसँगै पढ्ने मामा नाता पर्नेबाट बलात्कृत भएको बताएको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले बताए । पाठकका अनुसार आरोपित १७ वर्षका किशोरलाई पक्राउ गरी घटनाको थप अनुसन्धान भइरहेको छ ।

जिल्ला अस्पताल अछाममा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्रमा काउन्सिलिङका क्रममा किशोरीले  सबै बताएकी थिइन् । उनले आँखा, घाँटी, हातमा कपडाले बाँधेर बलात्कार गरेको बताएकी थिइन् । सो घटनामा अन्यको पनि संलग्नता रहेको आशंका गरिएको छ । सोमबार साँझ छिमेकीको घरमा जन्मदिनको नाचगान चलिरहेका बेला घटना घटेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर