शुक्रबारदेखि मेलम्ची बन्द गरिने, विकल्पमा बागमती धाप

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारा बन्द सम्भावना रहेको समितिले जनाएको हो। मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछाने बताए ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो। मनसुन अक्टोबर २ मा बाहिरिने गर्दछ।

समितिका कार्यकारी निर्देशक लामिछाने वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढेकाले आयोजनालाई बाढीको जोखिमबाट बचाउन बन्द गर्नुपर्ने सम्भावना रहेको जानकारी दिए । “यसअघि खासै ठुलो वर्षा भएको थिएन। वर्षा नहुञ्जेल उपत्यकावासीलाई खानेपानीको उपलब्धता गराउन बन्द गरेनौँ”, उनले भने, “सिन्धुपाञ्चोकतिर मनसुनी वर्षा सुरु भएर मेलम्ची नदीमा पानीको बहाव बढेको छ। शुक्रबार आयोजना अवलोकनका लागि त्यसतर्फ जाँदैछौँ। आयोजनालाई जोगाउन शुक्रबारदेखि नै बन्द गर्ने सम्भावना बढी छ।”

मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडवर्क्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो। समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गर्नुपर्ने हुन्छ। कार्यकारी निर्देशक लामिछाने वर्षा बढ्न थालेको भन्दै योसँगै नदी धमिलिने खतरा बढिरहेकाले आयोजना बन्द गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे । गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो। नेपालमा मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठुलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ। यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

दैनिक चार करोड लिटर पानी वितरण

मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव झन्झन् बढ्ने भन्दै खानेपानी आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिए ।

“मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट सुक्खा याममा नौ करोड लिटर पानी दैनिक उपभोक्तालाई वितरण गरिरहेका छौँ। सो अवधिभर करिब ४० प्रतिशत भूमिगत पानीबाट आपूर्ति हुन्छ”, उनले भने, “मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ। मेलम्चीको विकल्पमा अन्य आयोजनाको खोजी गरी तत्काल कार्यान्वयन गरिनुपर्छ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर