मध्यनेपालका तीन क्याम्पसमा कहिले होला स्ववियु निर्वाचन ?

काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिकास्थित तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन अझ हुन सकेको छैन् ।

चैत ५ गतेको लागि निर्वाचन तोकिए पनि ती क्याम्पसहरूमा राजनीतिक दलबीचको सहमतिलाई विद्यार्थी संघसंगठनले नमान्दा स्ववियु निर्वाचन प्रक्रिया अनिश्चित बनेको हो ।

मध्यनेपाल नगरपालिकामा रहेको तीन वटा क्याम्पसमा राजनीतिक दलबीच मध्यनेपाल नगरपालिका ६, भोर्लेटारमा रहेको ईशानेश्वर क्याम्पसको नेतृत्वमा एमाले भातृसंगठन अनेरास्ववियुको नेतृत्व, वडा नम्बर ४, दुइपिप्लेस्थित पुष्पलता जनएकता क्याम्पसको नेतृत्वमा कांग्रेस भातृसंगठन नेविसंघको नेतृत्व र वडा नम्बर ३, सोतीपसलस्थित मंगला क्याम्पसको नेतृत्वमा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियु क्रान्तिकारीको नेतृत्वमा स्ववियु गठन गर्ने सहमति भएको थियो ।

चैत ५ गतेको निर्वाचन रोक्न अघिल्लो दिन नै पत्र लेखेकोमा विद्यार्थीहरूबीच सहमति नजुट्दा स्ववियु निर्वाचन प्रक्रिया नै अन्यौल बनेको छ । राजनीतिक दल र विद्यार्थी संगठनले सहमति गर्ने भने पनि हालसम्म सहमति हुन सकेको छैन ।

ईशानेश्वर र पुष्पलतामा समस्या नदेखिए पनि मंगलामा समस्या देखिएको छ । विद्यार्थी संगठनबीच मंगलमा सभापतिमा नेविसंघ, उपसभापतिमा अनेरास्ववियु क्रान्तिकारी, सचिवमा नेविसंघ र सहसचिवमा अनेरास्ववियुबीच सहमति भइसकेको अवस्थामा राजनीतिक दलबीचको सहमतिले सभापति अनेरास्ववियु क्रान्तिकारीको भागमा पारेपछि विवाद बढेको हो ।

उक्त क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीका एकजना मात्रै विद्यार्थी रहेको र यसअघि नै सहमति भइसकेको अवस्थामा अनेरास्ववियु क्रान्तिकारीको नेतृत्व स्विकार्न नेविसंघका विद्यार्थी तयार छैनन् । मनोनयन भने नेविसंघ र अनेरास्ववियु क्रान्तिकारीले संगै गरेको र अनेरास्ववियुले भने एकल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर