राष्ट्रिय ध्वजावाहक जहाज उडाउन पाइलटको अभाव

काठमाडौं । नेपाल वायु सेवा निगममा वाइडबडी र न्यारोबडी जहाज उडाउने पाइलटको अभावले उडान प्रभावित हुन थालेको छ । हाल निगमका चार जना वरिष्ठ पाइलट निलम्बनमा परेका छन् भने केही पाइलट जागिरबाट पलायन भएका छन् । चालक अभावकै कारण उडान प्रभावित हुन थालेपछि निगमले तत्काल दश जना पाइलट करारमा नियुक्त गर्ने प्रक्रिया अघि बढाएको छ भने हाल जिम्मेवारीमा रहेका पाइलटलाई सकेसम्म बिदा नलिन आग्रह गरेको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले भने, “हाल निगमसँग अन्तर्राष्ट्रियतर्फ उडान गर्न दुई वटा वाइडबडी र दुई वटा न्यारोबडी जहाज छन् । वाइडबडी र न्यारोबडी जहाज उडाउन ३३ जोर पाइलट आवश्यक पर्ने भए पनि झन्डै २० जोर मात्रै पाइलट रहेका छन् । मौज्दात पाइलटमध्ये चार जना वरिष्ठ पाइलट निलम्बनमा परेपछि उडान व्यवस्थापनमा त्यसको असर देखिन थालेको छ ।”

वाइडबडी जहाजका लागि ३४ जना र न्यारोबडी जहाजका लागि ३२ जना पाइलट आवश्यक रहेकोमा अहिले निगमसँग वाइडबडी उडाउन १७ जना र न्यारोबडी उडाउन २२ जना मात्रै पाइलट रहेको उनले बताए । प्रवक्ता पौडेलका अनुसार अन्तर्राष्ट्रिय उड्डयन नियमअनुसार एक जना पाइलटले दैनिक अधिकतम १० घन्टा र एक महिनामा एक सय घन्टा मात्रै उडान गर्न पाउने नियम रहेको छ । उक्त नियमअनुसार लगातार १० दिन आफ्नो पूरा क्षमतामा उडान भर्ने पाइलट महिनाको २० दिन खाली बस्नुपर्छ ।

पहिलेदेखि नै पाइलट अभाव झेल्दै आएको निगमले हाल चार जना अनुभवी चालक निलम्बनमा रहेपछि त्यसको असर काठमाडौँ–हङकङ–काठमाडौँ उडानमा देखिएको छ । निगम स्रोतका अनुसार हप्तामा तीन दिन काठमाडौँ–हङकङ उडान गर्दै आएको निगमले असार ११ गतेयताका सबै उडान कटौती गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर