सौर्यमण्डल पर जीवनको खोजका लागि पठाइएको भोयजर अन्तरिक्ष यान अझै सक्रिय

काठमाडौं । पृथ्वीबाट २४ अर्ब किलोमिटर टाढा रहेको मानव निर्मित अन्तरिक्ष यान ‘भोयजर-१’ यानले पुनः पृथ्वीमा डेटा पठाएको छ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाको जेट प्रोपल्सन ल्याबोरेटरीले एक ब्लग लेख्दै पुनः वैज्ञानिक कामका लागि भोयजर-१ यानले पृथ्वीमा डेटा पठाएको जानकारी दिएको हो । नासाका अनुसार यस अन्तरिक्ष यानमा भएका चारवटै यन्त्रले सङ्कलन गरेका डेटा पृथ्वीमा पठाएका छन् । यानमा नोभेम्बर २०२३ देखि समस्या आएर यानसँग सम्पर्क हुन सकेको थिएन । अहिले वैज्ञानिकले यानमा भएको समस्या पहिचान गरेर समाधान गरिसकेका छन् ।

वैज्ञानिकका अनुसार सङ्कलन गरिएका डेटा पृथ्वीमा पठाउन प्रयोग हुने यानको फ्लाइट डेटा सबसिस्टम (एफडीएस) मा समस्या भएको थियो । सो कुराको समाधान गर्न वैज्ञानिकहरूले नयाँ कोड यानमा पठाएका थिए । मर्मत भएपछि यान पहिलो पटक गत अप्रिलमा पुनः सम्पर्कमा आएको थियो ।

४६ वर्ष पुरानो यो यानलाई सुरुमा वृहस्पति र शनि ग्रहको अध्ययन गर्न सन् १९७७ मा प्रक्षेपण गरिएको थियो । सो मिसन औपचारिक रूपमा १९८० मा नै पूरा भएपनि यान अझैसम्म सक्रिय रहेको छ । यसपछि अरुण र वरुण ग्रहको समेत अध्ययन गर्न भोयजर-२ पठाइएको थियो । यी दुवै यान इन्टरस्टेलर स्पेस (तारा अथवा ग्रह नभएको स्थान) मा रहेको नासाको भनाइ छ । जसले गर्दा अन्तरिक्षको रहस्यमयी क्षेत्रबारे अझ महत्त्वपूर्ण डेटा प्राप्त हुने वैज्ञानिकले आशा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर