मनसुन पूर्णरूपमा सक्रिय नहुँदै ताप्लेजुङमा पहिरोको वितण्डा

काठमाडौं । ताप्लेजुङको विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौं परिवार विस्थापित भएका छन् । पछिल्लो चार(पाँच दिनयता परेको वर्षाका कारण गएको पहिरोले घरमा क्षति पुर्‍याउँदा दर्जनौं परिवार विस्थापित भएका हुन् ।

प्रहरीका अनुसार शनिबार बिहान पहिरो जाँदा मिक्वाखोला गाउँपालिका–५ पापुङमा तीन परिवार विस्थापित भएका छन् । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार पापुङ, ताङ्खु टोलका आइतबीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएका छन् । बिहान करिब ५ः३० बजेतिर वर्षासँगै माथिबाट झरेको पहिरोले बस्न नमिल्ने गरी घरमा क्षति पुर्‍याउँदा विस्थापित हुनुपरेको प्रनाउ रावलले जानकारी दिए ।

उनका अनुसार तीनजना लिम्बूका परिवारका सदस्यहरुले भागेर ज्यान बचाउन सफल भएका छन् भने पहिरोले गोठ र खोरसहित केही पशुपन्छी बगाएको छ । यस्तै सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा शनिबार नै बिहानको राति करिब २ बजेतिर गएको पहिरोले ६ परिवार विस्थापित भएका छन् । मामाङ्खे थत्रुवाका गोरीमाया लिम्बू, पूर्णकुमार माबो र भीममाया गुरुङको परिवारले विस्थापित भएका छन् ।

मामाङ्खेकै थबाबुकका ख्यालमान लिम्बू र बीरबहादुर लिम्बू, आगेगाउँका चन्द्रबहादुर लिम्बूको परिवार विस्थापित भएका छन् । सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको मामाङ्खेका स्थानीय कैलाश माबोले जानकारी दिए । विस्थापित भएका परिवारले सुरक्षित ठाउँमा आफन्तको शरण लिएर बस्दै आएका माबोले बताए ।

उनकाअनुसार पहिरोले मामाङ्खेमा ३० भन्दा बढी परिवार पहिरोको उच्च जोखिममा परेका छन् । यस्तै पहिरोले खानेपानीमा क्षति पुर्‍याउँदा मामाङ्खेका करिब तीनसय परिवारले खानेपानीबाट वञ्चित हुनुपरेको पनि माबोले जानकारी दिए । यसैगरी याम्फदिनमा पनि दर्जनौं परिवार बाढीपहिरोको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिए । यसरी मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढीपहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानी लगायतका संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङको भुवनावट पहिरोको जोखिम पर्ने जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ । समितिका अनुसार यहाँका ६१ वटामध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा पर्दछन् । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर