९ हजार बिघा जग्गा अतिक्रमणबारे छानबिन हुँदै : गृहमन्त्री

काठमाडौं ।  उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुने बताएका छन् । आफ्नो कार्यकाल १०० दिन पूरा भएको अवसरमा शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो बताएका हुन् । “अब सिंहदरबार हर-नागरिकका लागि खुल्ला हुनेछ,” गृहमन्त्री लामिछानेले भने । उनले भने, “अब कुनै पनि पहुँचवालाले सिफारिस गर्नुपर्दैन सिंहदरबार छिर्नका लागि । आफ्ना मान्छेहरू नभएकाहरूले पनि अब छिर्न पाउँछन् । चिनेको आधारमा, आफ्नो मान्छे भित्र भएको आधारमा मात्रै काम हुने समस्या समाधान हुन्छ ।”

यस्तै अबदेखि सिधै गृहमन्त्रीलाई समस्या राख्न सकिने भएको छ । गृह मन्त्रालयअन्तर्गतका निकायमा क्यूआर कोड राखिने र त्यो स्क्यान गर्नेबित्तिकै हरेक गुनासाहरू त्यसमार्फत गृहमन्त्रीकहाँ पुर्‍याउन सकिने व्यवस्था गरिने भएको छ । “राम्रोदेखि नराम्रा; अनियमिततादेखि लिएर हरेक गुनासाहरू तपाईंले क्यूआर कोड स्क्यान गरी त्यसमार्फत गृहमन्त्रीसम्म पुर्‍याउन सक्नुहुन्छ,” गृहमन्त्री लामिछानेले भने, “यहाँ त यस्तो रहेछ भनेर फोटो, सूचनादेखि सबै चिज पठाउन सकिनेछ ।”

बृहत्तर जनकपुर क्षेत्रको ९ हजार बिघा जग्गा अतिक्रमण भएको पाइएको भन्दै गृहमन्त्रालयले छानबिन थालेको छ । गृह मन्त्रालयका १०० दिनको उपलब्धि सार्वजनिक गर्न शुक्रबार आयोजित प्रेस ब्रिफिङमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सोबारे जानकारी गराए । उनले जनकपुरमा जग्गा अतिक्रमणबारे गृह मन्त्रालयले ‘बिग अपरेसन’ सुरू गरेको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर