आज रातिदेखि युरो कप सुरु हुँदै, उद्घाटन खेल जर्मनी र स्कटल्याण्ड खेल्दै

काठमाडौं ।  युरो कपको १७औं संस्करण जुन १४ देखि जुलाई १४ सम्म हुँदैछ । मिनी फुटबल विश्वकप भनिने युरो कप यस पटक जर्मनीले आयोजना गर्दै छ । युरोपका २४ देशले भाग लिने यो प्रतियोगिता जर्मनीका विभिन्न १० स्टेडियममा खेलाइँदै छ ।

युरो कपको उद्घाटन खेलमा आज राति आयोजक जर्मनी र स्कटल्याण्ड खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति १२: ४५ बजेदेखि हुनेछ । युरोकपको डिफेन्डिङ च्याम्पियन इटाली हो । इटालीले २०२० मा सम्पन्न फाइनल खेलमा इङल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै दोस्रो पटक उपाधि जितेको थियो ।  यस युरो कपमा भाग लिएका २४ टिमलाई ६ समूहमा विभाजन गरिएको छ । समूह चरणका खेलपछि समूहमा शीर्ष २ देश नकआउट चरणमा प्रवेश गर्ने छन् भने तेस्रो स्थानमा रहेका शीर्ष चार देश पनि नकआउट चरणमा पुग्ने छन् ।

युरोकपको समूह ए मा जर्मनी, स्कटल्याण्ड, हंगेरी र स्वीजरल्याण्ड रहेका छन् । त्यस्तै समूह बी मा स्पेन, क्रोसिया, इटाली र अल्बानिया रहेका छन् भने समूह सी मा स्लोभेनिया, डेनमार्क, सर्बिया र इङल्याण्ड रहेका छन् । त्यस्तै समूह डी मा पोल्याण्ड, नेदरल्याण्डस, अस्ट्रिया र फ्रान्स रहेका छन् भने समूह इ मा बेल्जियम, स्लोभाकिया, रोमानिया र युक्रेन रहेका छन् । त्यस्तै समूह एफ मा टर्की, जर्जिया, पोर्चुगल र चेक रिपब्लिक रहेका छन् ।

युरो कप अहिलेसम्म को कसले जितेका छन् ?

अहिलेसम्म १६ पटक समपन्न यो प्रतियोगिताको सबै भन्दा धेरै पटक उपाधि जर्मनी र स्पेनले जितेका छन् । जर्मनी र स्पेनले ३-३ पटक युरो कप जितेका छन् । जर्मनीले १९७२, १९८० र १९९६ मा युरो कप जितेको थियो भने स्पेनले १९६४, २००८ र १०१२ मा युरो कप जितेको थियो ।

त्यस्तै इटाली र फ्रान्सले २-२ पटक युरो कपको उपाधि जितेका छन् । इटालीलले १९६८ र २०२० मा युरो कप जितेको थियो भने फ्रान्सले १९८४ र २००० मा युरो कप जितेको थियो । त्यस्तै १९७६ को युरो कपको उपाधि चेकोस्लोभाकियाले जितेको थियो पछि बिभाजन भएर चेक रिपब्लिक र स्लोभाकिया बनेपछि अहिले दुवै देशलाई १९७६ को युरोको विजेता मानिन्छ । त्यसबाहेक रसियाले १९६० मा, पोर्चुगलले २०१६ मा, नेदरल्याण्डसले १९८८ मा, डेनमार्कले १९९२ मा र ग्रीसले २००४ मा युरो कपको उपाधि जितेका थिए । इङल्याण्ड २०२० मा उपविजेता बने पनि अहिलेसम्म युरो कप जित्न सकेको छैन भने बेल्जियम १९८० मा उपविजेता बनेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर