अफगानिस्तान ‘सुपर-८’ मा, नेपाल-दक्षिण अफ्रिकाको खेल भोलि बिहान ५:१५ बजे

काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत पपुवा न्यूगिनीलाई हराउँदै अफगानिस्तान ‘सुपर-८’ मा पुगेको छ। शुक्रबार बिहान भएको खेलमा अफगानिस्तानले पपुवा न्यूगिनीलाई सात विकेटले पराजित गरेको हो। पपुवा न्यूगिनीले दिएको ९६ रनको लक्ष्य अफगानिस्तानले १५=१ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेको हो। अफगानिस्तानका लागि गुलाबदिन नाइबले ४९, मोहम्मद नबीले १६, अज्मतुल्लाह ओमराजाईले १३ र रहमनुल्लाह गुर्बाजले ११ रन बनाए। पपुवा न्यूगिनीका लागि अलेई नाउ, सेमो कमिया र नर्मन बनुवाले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको पपुवा न्यूगिनीले १९.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो। किप्लिन डोरिगाले २७, अलेई नाओले १३ र टोनी उराले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

अफगानिस्तानका लागि फजलहक फारूकीले तीन, नवीन उलहकले दुई र नूर अहमदले एक विकेट लिए। यो जितसँगै समूह ‘सी’ को शीर्षस्थानमा उक्लिएर अफगानिस्तान अर्को चरणमा प्रवेश गरेको छ। यस समूहबाट वेस्ट इन्डिज पनि यसअघि नै ‘सुपर-८’ मा पुगिसकेको छ। न्यूजिल्यान्डसँगै पपुवा न्यूगिनी र युगान्डा बाहिरिएका छन्। त्यस्तै, समूह ‘ए’ बाट भारत, समूह ‘बी’ बाट अस्ट्रेलिया र समूह ‘डी’ बाट दक्षिण अफ्रिका अर्को चरणमा पुगिसकेका छन्। गए राति भएको खेलमा बाङ्लादेशले नेदरल्यान्डलाई पराजित गरेसँगै नेपालको पनि अर्को चरणमा पुग्ने सम्भावना जीवित नै छ। नेपालले अबका दुवै खेल जितेमा ‘सुपर-८’ मा पुग्नेछ।

अब नेपालले शनिबार बिहान ५ः१५ बजे दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, अन्तिम खेलमा सोमबार बिहान ५ः१५ बजे बाङ्लादेशसँग प्रतिस्पर्धा गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर